ट्रकमा करेन्ट लाग्दा सहचालकको मृत्यु, दुई जना घाइते
सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१ लखनदेही पुल नजिकै रहेको न्यू माँ राजदेवी खाद्य उद्योग परिसर भित्र बिधुतिय करेन्ट लागेर सहचालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
आज बिहान अन्दाजी ६:४५ बजे रौतहटबाट धानको भुस लिन आएको ना.६ ख ७५५० नम्बरको ट्रकमा त्रिपाल हटाउने क्रममा माथिबाट गएको ११ हजार भोल्टको विद्युत् लाइनमा करेन्ट लागेको थियो।
करेन्ट लागेर ट्रकमा काम गरिरहेका सहचालक रौतहट बृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवानको उपचारको क्रममा मृत्यु भएको सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोज कुमार राईले जानकारी दिए । करेन्ट लागेर अन्य तीनजना कामदारहरु घाईते भएका छन्।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नवलपुरबाट सई भरत साहको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएर घाइतेहरुलाई तत्कालै उपचारको लागि नमुना अस्पताल, हरिवन पठाएको थियो। घटनामा ट्रकका सहचालक खलाँसी पासवानको उपचारको क्रममा बिहान ७:१० बजे मृत्यु भएको नमुना अस्पतालले जनाएको छ।
त्यस्तै, सोही ट्रकमा काम गर्दै आएका २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान दुवै हात र खुट्टामा करेन्ट लागेको अवस्थामा उपचाररत छन्। उनीहरुको अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ।
प्रहरीका अनुसार उक्त ट्रक इलाका प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा रहेको छ भने ट्रक चालक वीरगञ्ज महानगरपालिका–३० निवासी ३९ वर्षीय शेख लाल महमद पनि हाल उपचारमा संलग्न छन्। उक्त स्थान इलाका प्रहरी कार्यालय नवलपुरबाट करिब ५०० मिटर पश्चिममा पर्ने बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

