हेटौंडा / शिक्षा तालिम तथा सामुदायिक सेवा नेपाल (ETSC) द्वारा सञ्चालित ‘महिला सशक्तिकरणद्वारा दिगो वातावरण’ परियोजनाको दोस्रो वर्षको सामाजिक लेखापरीक्षण कार्यक्रम असार ३२ गते सम्पन्न भएको छ। कार्यक्रम संयोजक जगदीश अधिकारीको प्रस्तुतिमा आयोजित उक्त कार्यक्रममा परियोजनाले मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. १, २, ३ र बकैया गाउँपालिकाका वडा नं. ४, ६, ७, ८, १०, १२ मा सञ्चालन गरिएका गतिविधिहरुको विस्तृत विवरण सार्वजनिक गरिएको हो।
तीन वर्षे योजना (२०८० साउन १ देखि २०८३ असार ३२) अन्तर्गत दोस्रो वर्ष (२०८१ साउन १ देखि २०८२ असार ३२) परियोजनाले मानव सुरक्षा, वातावरण संरक्षण, लैङ्गिक समानता, जलवायु अनुकूलन, विपद् न्यूनीकरण, सीप विकास, रोजगारी प्रवर्द्धन तथा कृषिमा प्रविधिको प्रयोगसम्बन्धी प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरेको जानकारी दिइएको छ।
दोस्रो वर्षमा २१ वटा स्वनिर्भर समूहहरूबाट ४२ लाख रुपैयाँबराबरको समूहगत पुँजी परिचालन गरिनुका साथै ६ वटा किशोर–किशोरी समूह गठन, २४ वटा सिकाइ सत्र सञ्चालन, ६० जना महिलालाई कृषि तथा पशुपालनसम्बन्धी तालिम र सामग्री सहयोग गरिएको उल्लेख गरिएको छ। साथै १ वटा सामुदायिक कृषि नर्सरी तथा साना सिँचाइ आयोजना निर्माण पनि सम्पन्न गरिएको छ।
जलवायु अनुकूल अभ्यास प्रवर्द्धनका लागि १२० वटा सुधारिएको चुलो वितरण, पोखरी संरक्षण, बायो फल्क प्रविधिको प्रयोग र वृक्षारोपणजस्ता वातावरणमैत्री गतिविधिहरू प्रभावकारी रूपमा सम्पन्न भएका छन्।
लेखापरीक्षण प्रतिवेदनअनुसार दोस्रो वर्षका लागि विनियोजित १ करोड ९४ हजार ७३८ रुपैयाँमध्ये ९१ प्रतिशत बजेट खर्च गरी कार्यान्वयनमा ल्याइएको छ। यस अवधिमा बाल संरक्षण, घरेलु हिंसा र बाल विवाहजस्ता १६ वटा सामाजिक मुद्दामा समन्वयात्मक पहल गरिई मानव सुरक्षा र उत्तरदायित्वको अभ्यासलाई सुदृढ पारिएको उल्लेख गरिएको छ।
‘आफ्नो छिमेकीलाई आफ्नैजस्तो’ भन्ने नारासहित सञ्चालन गरिएको यस परियोजनाले समतामूलक, सुरक्षित र वातावरणमैत्री समुदाय निर्माणमा उल्लेखनीय योगदान दिएको सहभागीहरूले बताएका छन्। सहभागीहरूले राखेका गुनासा र सुझावहरू आगामी दिनमा मनन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता संयोजक अधिकारीले व्यक्त गरेका थिए।
उक्त कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका उपनिर्देशक भीमप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासक अधिकृत गुजराज न्यौपाने, गैसस महासंघ अध्यक्ष रमिला सापकोटा, ETSC का सल्लाहकार सिताराम बर्तौला, बाल कल्याण समाज अध्यक्ष प्रकाश खतिवडा लगायतको उपस्थिति रहेको थियो।

