दुर्घटनामा २ जनाको मृत्यु, आमा र छोरा गम्भीर घाइते

पालिका डायरी
२५ असार २०८२, १९:१४

झापाको बाह्रदशी गाउँपालिका–१ खैरबारीस्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ। आमा र छोरा गम्भीर घाइते भएका छन् ।

बुधबार दिउँसो करिब ३ः४० बजे राजगढबाट कुटीतर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०१–०१६ प ९२७० नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटी चालक कचनकवल गाउँपालिका–३ निवासी ६० वर्षीय श्रीप्रसाद राजवंशी र मोटरसाइकल चालक (पहिचान खुल्न नसकेको) गम्भीर घाइते भई उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्कुटरमा सवार मृतक श्रीप्रसाद राजवंशीका २७ वर्षीय बुहारी उर्मिला राजवंशी र ३ वर्षीय नाति आयुष राजवंशी गम्भीर घाइते भएका छन् । गम्भीर अवस्थामा रहेका उनीहरूलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको छ । दुवै बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय राजगढको नियन्त्रणमा रहेको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया