त्रिशूली उर्लिएपछि १ घण्टा रुख चढेर ‘कालको मुख’बाट बचेका तामाङ दम्पती

पालिका डायरी
२४ असार २०८२, १७:२८

नुवाकोटको किस्पाङ गाउँपालिका-४, साल्मे घर भई हाल विदुर नगरपालिका-१ मा बस्ने ६७ वर्षका पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षकी मंगली तामाङ आज (मंगलबार) सबेरै ४ बजे उठे।

आगो बालेर खाना पकाउने तामाङ दम्पतीलाई बर्खाका लागि दाउरा जोहो गर्नु थियो। त्यसैले मंगलीले एउटा डोको बोकिन्। डोकोमा खुर्पा र डोरी हालिन्। अनि पति पाल्देनसँगै दाउरा खोज्न त्रिशूली नदीको छेउछाउ पुगिन्।

नदीवरपरका रुखबाट सुकेर झरेका हाँगा बटुल्न त्यहाँ पुगेका उनीहरू डोको भर्खर बिसाएर दाउरा खोज्दै थिए। यत्तिकैमा नदी सुसाएको आवाज मंगलीको कानमा पर्‍यो।

यसपछि उनले अत्तालिदैँ श्रीमान् पाल्देनलाई बोलाइन् । उर्लिएर आइरहेको बाढी र त्यसले पल्टाउँदै ल्याएका ढुंगा देखेर दुवै जनाको होस हवास उड्यो। बाढीबाट बच्न पाल्देनले हत्तपत्त मंगलीलाई नजिकैको सिसौको रुखमा चढाए।

त्यही रुखको एउटा हाँगामा डोको झुन्ड्याउन भ्याए। अनि आफू पनि त्यही रुखमा उक्लिए बाढी भर्खरै सुरु भएको थियो। खोला तरेर किनारमा पुग्न सक्ने स्थिति थिएन।

घटनास्थल त्रिशूली बसपार्कनजिकै रहेका कारण स्थानीयले पाल्देन दम्पतीलाई देखे र होहल्ला गरे। झन्डै एक घण्टा रुखमा बस्दा हातगोडा गलेपछि ‘बाढीले लगे पनि लगोस्’ भनेर उनीहरू तल के ओर्लिएका थिए, उद्धारका लागि सेनाको हेलिकप्टर आइपुग्यो।

हेलिकप्टरको मद्दतले बिहान ९ बजे उनीहरूलाई उद्धार गरेर नुवाकोटस्थित त्रिशूली अस्पतालमा पुर्‍याइएको हाल विदुर नगरपालिका-१ मिलन चौतारामा बस्ने किस्पाङ गाउँपालिका-४ का वडाध्यक्ष विनोद तामाङले जनाकारी दिए।

अस्पतालको बेडमा पुगेपछि कालको मुखबाट बचाएको भनी तामाङ दम्पतीले हात जोडेर उद्धारकर्मीहरूलाई रुँदै धन्यवाद दिएको वडाध्यक्ष तामाङले बताए।

तामाङ दम्पतीको उपचार जारी छ। विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीका अनुसार उनीहरू बाढीमा फसेको जानकारी पाएपछि स्थानीय जनप्रतिनिधि, प्रहरी, जिल्ला प्रशासनका प्रतिनिधि तथा स्थानीय बासिन्दा घटनास्थलनजिक पुगेका थिए।

त्यसपछि प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेको पहल तथा जिल्ला विपद् जोखिम न्यूनीकरण समितिको समन्वयमा सेनाको हेलिकप्टर मगाइएको थियो।

उद्धारका लागि गृह मन्त्रालयले सहजीकरण गरेको उपप्रमुख बोगटीले बताइन्।

प्रतिक्रिया