हेटौंडामा ट्रक पल्टिँदा एक जनाको मृत्यु, एक घाइते

हेटौंडा / आज बिहान करिब २:३० बजे मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे स्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा लहरी ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने सहचालक घाइते भएका छन् ।
दुर्घटनामा ट्रकभित्र च्यापिएका चालक भारत गाजीपुर जिल्ला पुरैनियाका करिब ४५ वर्षीय महेन्द्र यादवलाई २ वटा क्रेनको सहयोगमा उद्धार गरी अचेत अवस्थामा हेटौंडा अस्पताल ल्याइएको थियो । तर उपचारका क्रममा बिहान ५:४५ बजे चिकित्सकले उनलाई मृत घोषित गरेकाे मकवानपुर प्रहरीले जानकारी दिएकाे छ । मृतकको शव हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ ।
भारतको बनारसबाट रिद्धिसिद्धि सिमेन्ट उद्योगका लागि कोइला बोकेर आउँदै गरेको UP61AT 0962 नम्बरको ट्रक ब्रेक फेल भएर बाटोको दाहिने किनारमा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा सहचालक भारत गाजीपुरका २५ वर्षका मनोज यादव घाइते भएका छन् । उनकाे अवस्था सामान्य रहेको बताइएको छ ।
दुर्घटना भएको ट्रकलाई अहिले घटनास्थलबाट साइडमा राखिएको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
