स्कुलको भ्यान दुर्घटना, ९ वर्षकी बालिकाको मृत्यु, ७ जना घाइते

काठमाडौँको कलंकीमा स्कुलको माइक्रो भ्यान दुर्घटना ९ वर्षिय बालिकाको मृत्यु भएकाो छ । सोमबार दिउँसो १२ः५० मा काठमाडौँ महानगरपालिका १४ स्थित इडिफाइ इन्टरनेसनल स्कुलको कम्पाउन्डभित्र विद्युतीय माइक्रो भ्यान स्कुलकै गेटको पिलरमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा सर्लाही घर भई हाल कुलेश्वर बस्ने ९ वर्षकी सोनाक्षी यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर भएकी उनलाई सहिद मेमोरीयल अस्पतालमा उपचारको लागि लगिएको थियो । १३ः३६ बजेको समयमा अस्पतालले मृतक घोषणा गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए ।
दुर्घटनामा अरु ७ जना घाइते भएका छन् । घाइते हुनेमा सर्लाहीकै लालबन्दीकी ८ वर्षकी रेश्मा मोक्तान, रामेछाप घर भई हाल स्वयम्भु बस्ने ९ वर्षकी नेशिया थापा,किर्तिपुरकी ९ वर्षकी निकिशा डंगोल, मकवानपुर घर भइ कलंकी बस्ने ११ वर्षकी सिमरन खड्का, गुल्मी घर भइ कलंकी बस्ने ९ वर्षकी प्रेमिसा घर्ती मगर रहेका छन् । उनीहरूको कलंकीस्थित नेसनल अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, तनहुँ घर भइ कलंकी बस्ने विद्यालयका प्रधानाध्यापक ४६ वर्षका सुरज पोखरेल र धनुषा घर भइ कलंकी बस्ने भ्यानका चालक ६० वर्षका हर्कबहादुर कार्की पनि घाइते छन् । पोखरेल र कार्कीको वयोधा अस्पताल बल्खुमा उपचार भइरहेको एसपी बोहराले जानकारी दिए।
