बोर्ड तोडफोडप्रति मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आपत्ति, दोषीमाथि कारबाहीको माग

पालिका डायरी
३१ चैत्र २०८१, १७:३५
अस्पतालकाे बोर्ड तोडफोड गर्ने ६ जना पक्राउ, रिहाइको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

हेटौंडा / मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बिहान हेटौंडा अस्पताल परिसरको बोर्ड तोडफोडप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्ता अवाञ्छित र आपत्तिजनक गतिविधिको घोर भर्त्सना गरेको छ। प्रतिष्ठानका निमित्त उपकुलपति डा. दिनेश कुमार लम्साल र रजिष्ट्रार भीमसागर गुरागाईंले हस्ताक्षर गरेको विज्ञप्तिमा अस्पतालको साइनबोर्डमा गरिएको तोडफोड, केरमेट तथा अनधिकृत रूपमा अर्को बोर्ड टाँस्ने कार्य कानुनविपरीत भएको उल्लेख गरिएको छ।

२०७६ साल असोज २ गते बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौंडा अस्पताल सञ्चालनमा छ। प्रतिष्ठानले स्वास्थ्य विज्ञानको अध्ययन, अध्यापन र अनुसन्धानलाई प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त दक्ष जनशक्ति उत्पादन गर्ने तथा सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्य लिएको छ।

प्रतिष्ठानका अनुसार हाल १०० भन्दा बढी विशेषज्ञ चिकित्सकहरूबाट दैनिक १५०० भन्दा बढी बिरामीलाई सेवा दिइँदै आएको अवस्थामा भएको यस प्रकारको गतिविधिले अस्पताललाई पुनः रेफर सेन्टरको रूपमा फर्काउने उद्देश्य राख्ने स्वार्थ समूहलाई मात्र लाभ पुग्ने देखिन्छ।
“स्वास्थ्य सेवा एक अत्यावश्यक सेवा हो,” विज्ञप्तिमा भनिएको छ, “र यस्ता गैरकानुनी कार्यले उपचाररत बिरामीहरू, स्वास्थ्यकर्मी तथा सेवाग्राहीहरूमा त्रास, अन्योल र असुरक्षा उत्पन्न भएको छ।”

प्रतिष्ठानले घटनाका दोषीहरूलाई तुरुन्त छानबिन गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै, अस्पतालको सेवा प्रवाहमा अवरोध नआओस् भनेर सबै राजनीतिक दल, सामाजिक संघ-संस्था, नागरिक समाज, बिरामी, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको संयमता र सहयोगको अपेक्षा गरिएको छ।

प्रतिक्रिया