भीमफेदीबाट भ्रमण गएको बस दुर्घटनामा वडाध्यक्षसहित २३ जना घाइते

हेटौंडा / मकवानपुरको बकैयामा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०६–००१ ख ०२७० नम्बरको बस गएराति ९:३० बजेतिर बकैया गाउँपालिका-३, चिसापानी बजारस्थित धरान-चतरा सडकमा पल्टिएको हो ।
भीमफेदी गाउँपालिकाका कृषि तथा पशु शाखाका कर्मचारीहरूको टोली सिन्धुली भ्रमणबाट भीमफेदी फर्कने क्रममा दुर्घटनामा परेको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार बसमा चालकसहित ३१ जना थिए । तीमध्ये २३ जना घाइते भएका हुन् । जसमा केहीको अवस्था गम्भीर रहेको डीएसपी अर्यालले जानकारी दिए । घाइते हुनेमा वडाध्यक्षदेखि गाउँपालिकामा कार्यरत कर्मचारीसम्म छन्।
दुर्घटनामा भीमफेदी गाउँपालिका-२ का वडाध्यक्ष ४९ वर्षका कासीराम बज्यु घाइते भएका हुन्। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । डीएसपी अर्याललका अनुसार अन्य घाइतेमा भीमफेदी-३ बुल्मिङ बस्ने ४६ वर्षका श्रीराम बज्यु, भीमफेदी-५ ज्यामिरेकी ५५ वर्षीया रीता कुमारी मगर, भीमफेदी गाउँपालिकाको कार्यपालिका सदस्य ४५ वर्षीया सुमित्रा लामा र सोही स्थानकी ५५ वर्षीया सानी आलेको अवस्था गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि बुधबार राति नै भरतपुरस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको डीएसपी अर्यालले जानकारी दिए ।
यस्तै अन्य घाइतेमा चितवनको राप्ति नगरपालिका-२ गडौली बस्ने २९ वर्षका पशु प्राविधिक डा. सरोज ओझा, उनकी श्रीमती २७ वर्षकी रेश्मा सुवेदी, मकवानपुरको भीमफेदी-२ निगालेका ४५ वर्षका दिलीप राज बुलन, सोही स्थानका यदुनाथ पुडासैनी छन् ।
मकवानपुरगढी गाउँपालिका-३ मक्रान्चुली बस्ने ४२ वर्षका नारायणप्रसाद शर्मा, हेटौंडा-११ थानाभर्याङ बस्ने २९ वर्षका उज्वल राना मगर, सोही स्थानका ३२ वर्षका सुदिप पराजुली, २७ वर्षका सुयास पाख्रिन, २७ वर्षका शुभाष रुम्बा, भीमफेदी-५ का ५२ वर्षका हितचन्द्र मोक्तान, सोही स्थानका २५ वर्षका अनिल स्याङबो, हेटौंडा-१८ बस्ने रुबिन घर्ति पनि घाइते भएका छन् ।
यस्तै भीमफेदीकै ५३ वर्षका बुद्विसिंह दोङ, ३९ वर्षकी सीता थिङ, सूर्य माया घलान, करणध्वज पाख्रिन, हेटौँडा-१८ हर्नामाडीका २९ वर्षका विमल ढुंगाना, भीमफेदी-४ बस्ने ४० वर्षका कृष्णहरि गाहामगर, सोही स्थानका ३८ वर्षका सुजन प्रजा, ४३ वर्षका मान बहादुर लामा, भीमफेदी-१ सानुटार बस्ने ४२ वर्षका राजेन्द्र कुमार स्याङतान, गाउँपालिकाका कृषि प्राविधिक २९ वर्षका सानुकान्छा घिसिङ, पशु प्राविधिक पुष्पलाल बज्यु, भीमफेदी-३ बस्ने ४८ वर्षको अर्जुन तामाङ घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बसका सहचालक उदयपुर रौतामाई गाउँपालिका-५ बस्ने ३२ वर्षकोे सतिह दाहाल पनि घाइते भएका छन् । चालक भने हालसम्म फरार रहेको मकवानपुर प्रहरीले जनाएको छ।
घाइतेहरूको भरतपुरस्थित नयाँ मेडिकल कलेज र हेटौंडास्थित विभिन्न अस्पतालमा उपचाररत रहेको प्रहरीले जनाएको छ ।