सुनको मूल्यमा ‘रेकर्ड ब्रेक’, आज फेरि बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो

आज फेरि सुनले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ । प्रतितोला एक हजार चारसय रुपैयाँ बढेर सुनको मूल्यले आज अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको हो ।
सुनको मूल्य आज प्रतितोला एक लाख ७६ हजार दुईसय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा महँगो मूल्य हो । यसअघि यही चैत ६ गते सुनको मूल्य एक लाख ७६ हजार रुपयाँ पुगेर घटेको थियो । हिजो बढेको सुनचाँदीकै मूल्य आज पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको मूल्य प्रतितोला एक हजार तीनसय रुपैयाँ बढेर एकलाख ७४ हजार आठसय रुपैयाँ पुगेको थियो । गएको बुधबार पनि सुनको मूल्य प्रतितोला दुईसय रुपैयाँ बढेको थियो । गत साताको शुक्रबारदेखि मंगलबारसम्म सुनको मूल्य लगातार घटेको थियो । त्यसयताका तीन दिन भने लगातार सुनको मूल्य बढिरहेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ बढेको छ । चाँदीको मूल्य आज तोलाको दुई हजार ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।