रुदानेको जन्म जयन्ती र थाहा दिवस मनाइयो 

पालिका डायरी
२६ पुष २०८१, २२:०८

हेटौंडा / थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्ट ‘रुदाने’ को ९१ औं जन्म जयन्ती तथा थाहा दिवस मनाइएको छ ।

थाहा नगरपालिका वडा नम्बर ३ स्थित विकासघर प्राङ्गणमा एक कार्यक्रम गरि रुपचन्द्र बिष्टको जन्मजयन्ती मनाईएको हो ।

थाहा नगरपालिका वडा नम्बर ३ को आयोजना र फरक सोचको समन्वयमा  कार्यक्रम आयोजना गरिएको हो ।

थाहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हिरेन्द्रकुमार रायमाझीको अध्यक्षता एवम् नगरप्रमुख बिष्णुबहादुर बिष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रुपचन्द्र बिष्टसंगै सहकर्मी भएर हिडेका जनमुखी सहकर्मीहरुलाई सम्मान तथा विकासघर प्राङ्गणमा रहेको रुपचन्द्र बिष्टको पूर्णकदको शालिकमा माल्यार्पण गरी जन्मजयन्ती तथा थाहा दिवस मनाइएको हो।

कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, रुपचन्द्र बिष्ट स्मारक स्थानिय समितिका संयोजक बिमलकुमार बिष्ट, जनमुखी सहकर्मी ज्योती रायमाझी, माओवादी केन्द्रका बिनोदकुमार लामा लगायतको आतिथ्यता रहेको थियो ।

यसैबिच फरक सोचले हरेक बर्ष प्रदान गर्दै आइरहेको थाहा पत्रकारिता पुरस्कार थाहा नगरपालिकाका पत्रकार ममता थापालाई प्रदान गरियो । अन्नपूर्ण पोष्टमा वरिष्ठ संवाददाताको रुपमा कार्यरत पत्रकार थापालाई उक्त पुरस्कार प्रदान गरिएको हो। नगद १० हजारसहित सम्मानपत्रद्वारा नगरप्रमुख बिष्णुबहादुर बिष्ट र उपप्रमुख भरत गोपालीले उक्त पुरस्कार प्रदान गरे । फरकसोचका अध्यक्ष यादव जंग रायमाझीले स्वागत गरेको कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, जनमुखी सहकर्मीहरु तथा स्थानियको उपस्थिति रहेको थियो ।

तत्कालिन दामन गाउँ पन्च्यातका प्रधानपन्च रुपचन्द्र बिष्टको विकासमा जनसहभागिता हुनुपर्ने र सबैले विकासको बारे थाहा पाउन पर्ने बिचार नै थाहा आन्दोलन भएको तत्कालीन रुपचन्द्रका सहकर्मीहरु बताउछन् ।

जन सहभागितामा रुपचन्द्रको अगुवाइमा निर्माण भएको विकासघर, जनकल्याण माबि, विकास खेत बारी, पालुङ विकास समिति हालपनि चर्चामा छ ।तत्कालीन दामन गाउँ पन्चायात वडा नम्बर १ मा जन्मेका रुपचन्द्र बिष्टलाई रुदाने, स्वरुपे, जसरु आदि नामले चिनिन्छ ।

थाहा आन्दोलनका प्रणेता उनै रुपचन्द्र बिष्टको सम्झनामा थाहा नगरपालिकाको नामांकरण गरिएको हो ।

प्रतिक्रिया