लागुऔषधसहित ६ जना पक्राउ
कैलाली र कञ्चनपुरमा लागुऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार कैलालीमा ४ र कञ्चनपुर एक जना भारतीयसहित २ जना पक्राउ परेका हुन् ।
धनगढी उपमहानगरपालिका-१० का एक किशोरलाई प्रहरीले १ सय ५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो । आइतबार राति ९ बजे धनगढी उपमहानगरपालिका-१०, सालघारीमा से २ प १९५ नम्बरको मोटरसाइकललाई शंका लागि जाँच गर्दा किशोरको साथमा खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका-१ सिभिल टोलमा लागुऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परे । पक्राउ पर्नेमा सोही ठाउँका ३५ वर्षय रोशन सिंह, २४ वर्षीय वर्षा चौधरी र १५ वर्षीय किशोर छन् ।
आइतबार राति १० बजे पक्राउ परेका उनीहरूको साथबाट १ सय ९० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ बैबाहमा लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परे ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा भारतको टाटरगञ्जका ४५ वर्षीय चुम्मन सिंह र कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ चन्दनबस्तीका १८ वर्षीय किशोर छन् । प्रहरीका अनुसार उनीहरूको साथमा ७४ मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको छ।