अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन नदिने विधेयक पारित

पालिका डायरी
१४ मंसिर २०८१, १३:११

अस्ट्रेलियाको संसद्‌ले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक अनुमोदन गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त विधेयक बुधबार अस्ट्रेलियाली संसद्का तल्लो सदन र बिहीबार सिनेटबाट पारित भएको हो । विधेयक पारित भएसँगै अब त्यहाँ १६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जाल चलाउन पाउने छैनन् । तर यो कानुन कम्तीमा १२ महिनापछि लागू हुने बीबीसीले जनाएको छ ।

प्राविधिक कम्पनीहरूले यो कानुन पालना गरेनन् भने उनीहरूलाई ५ करोड अस्ट्रेलियाली डलर (नेपाली झन्डै ४ अर्ब ४० करोड रुपैयाँ) जरिवाना हुनेछ । प्रधानमन्त्री एन्थोनी अल्बानीजले बालबालिकालाई सामाजिक सञ्जालको खतराबाट जोगाउन यो कानुन आवश्यक भएको बताएका छन् । धेरै अभिभावकले पनि यसमा सहमति जनाएका छन् ।

आलोचकहरूले भने यो प्रतिबन्धले कसरी काम गर्छ र यसले गोपनीयता र सामाजिक सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न उठाएका छन् ।

प्रतिक्रिया