भीमफेदीमा सरकारी विद्यालय परिसरभित्र निजी विद्यालय सञ्चालन, तर गाउँपालिकाको अभिलेखमा छैन

राम कुमार दानी
१४ मंसिर २०८१, १२:४४

हेटौंडा /  मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर ६, भीमफेदी बजारस्थित श्री महेन्द्र माध्यमिक विद्यालयको हाताभित्रै विद्यालयकै नम्बरि जग्गामा यस्तो दृश्य देखिन्छ, जुन दृश्य अहिले सम्म भीमफेदीका कसैले देखेका छैनन्। जुन दृश्य देखिरहेका छन्, त्यसले सरकारी शिक्षा क्षेत्रकै बदनामि गरिरहेको छ। यस्ता कमजोरीहरूले सरकारी विद्यालयहरूलाई कमजोर बनाएर निजी विद्यालयहरू फस्टाइरहेका छन्। यसलाई राम्रोसँग बुझ्न र जान्न, भीमफेदीको मात्र होइन, नेपालकै पुरानो विद्यालयमा पर्ने महेन्द्र मावि हेरे पुग्छ।

महेन्द्र माविको आफ्नै जग्गा, त्योपनि विद्यालय परिसरसँगै त्यही हाताभित्रै भीम आधार सामुदायिक विद्यालय नामक निजी स्कूल चलिरहेको छ। भीम आधार सामुदायिक स्कूलले महेन्द्र माविको हाताभित्रको जग्गा कसरी हात पारेको छ, कोही जिम्मेवार भएको पाइँदैन। सरकारी स्कूल प्राङ्गणभित्रै निजी विद्यालयको मनोमानी छ। त्यहाँका विद्यालय, व्यवस्थापन समिति र सरोकारवाला निकाय नै निरीह देखिएका छन्।

भीमफेदी गाउँपालिकाका शिक्षा साखाका प्रमुख चक्र साउदसँग यस विषयमा कुरा गर्दा उनले भने कि यो धेरै पुरानो कुरा हो र उनले यस विषयमा अध्ययन गर्दै आएको बताए। उनले थपे, “सरकारी स्कूल भित्र निजी बोर्डिङ स्कूल संचालन गर्न कानुनले पनि मनाही गरेको छ, यहाँ कसरी भयो भनेर आफैँ छक्क परेको छु।” उनले भने, “भीम आधार सामुदायिक स्कूल गाउँपालिकाकै अभिलेखमा छैन, कसरी चलेको छ मलाई थाहा छैन।” शिक्षा अधिकृत साउदले भने कि उनले भीम आधार सामुदायिक स्कूलका संचालक सुरेन्द्र ठिकेलाई विद्यालयको बारेमा सबै कागजात पेस गर्न पत्र पठाएका थिए, तर अहिले सम्म कुनै कागजात गाउँपालिकाले प्राप्त गरेको छैन।

साउदले भने, “अब छिट्टै गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासनिक अधिकृतसँग सम्बन्धित व्यक्तिसँग बैठक बसेर विद्यालयको जगासम्बन्धी स्थानियमा उठेको विवाद मिलाउने प्रयास गरिने छ।”

विद्यालयको जग्गा कुन सर्तमा सामुदायिक स्कूलले हडपेर स्कूल संचालन गरिरहेको छ, त्यसबाट सम्बन्धित कसैलाई थाहा छैन। विद्यालयले जग्गाको भाडा समेत असुली गरेको देखिँदैन। भीम आधार सामुदायिक स्कूलले सरकारी विद्यालय र शिक्षालाई भद्दा मजाक बनाइरहेको छ। सरकारी स्कूल स्वार्थ समूहको पञ्जामा कसरी फस्यो? भीमफेदी गाउँपालिका विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, अभिभावक र राज्यका नियामक निकाय कमजोर हुँदा निजी विद्यालयले कसरी फाइदा लिइरहेका छन् भन्ने उदाहरण महेन्द्र मावि, भीमफेदीलाई हेरे पुग्छ। भीम आधार सामुदायिक स्कूल कक्षा ५ सम्म सञ्चालनमा छ, तर गाउँपालिकाको अभिलेखमा भने यो छैन। गाउँपालिकाले यस बारे जानकारी दिएको छ।

प्रतिक्रिया