७१ किलो लागुऔषध गाँजासहित हेटौंडाबाट २ जना पक्राउ

पालिका डायरी
१२ मंसिर २०८१, ११:१२

हेटौंडाबाट ७१ किलो लागुऔषध गाँजा सहित २ जना पक्राउ परेका छन् ।

हेटौंडा उपमहानगरपालिका–१९ तिनताप्के स्थित पूर्व पश्चिम लोकमार्ग सडकखण्डमा प्रहरीले सो परिमाणको लागुऔषध सहित दुईजनालाई पक्राउ गरेको हो ।

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ३०५९ नम्बरको पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा मकवानपुर राक्सिराङ गाउँपालिका– ९ बस्ने २० वर्षीय मिलन घलान र सोही स्थानका २६ वर्षीय दावा थिङलाई गाँजा सहित पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

गाडीको चालक बस्ने सिट मुनी लुकाई छिपाई गरी राखी ल्याईएको अवस्थामा ७१ किलो ७ सय ग्राम लागुऔषध गाँजा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले बताए ।

फेला परेको लागुऔषध गाँजा, पिकअप गाडी सहित उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको डीएसपी अर्यालले बताए ।

प्रतिक्रिया