दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चले दिएन अन्तरिम आदेश
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। न्यायाधीश मनोज शर्माको इजलासले प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै नक्कली कागजात सार्वजनिक गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले मंसिर ४ गते प्रसाईंलाई पक्राउ गरेको थियो। उनलाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ।
यसअघि पनि साइबर कसुरमा मुद्दा दर्ता भएका प्रसाईं असोज १५ गते एक लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए। त्यसपछि प्रधानमन्त्री ओलीविरुद्ध नक्कली कागजातको सहारामा दुष्प्रचार गरेको आरोपमा उनलाई पुनः पक्राउ गरिएको हो। प्रहरीले यस्ता नक्कली कागजात प्रचारप्रसार गर्ने अन्य व्यक्तिहरूमाथि पनि निगरानी बढाएको जनाएको छ।

