चितवनमा बस र मोटरसाइकल ठोकिँदा एक युवकको मृत्यु, २ गम्भीर घाइते

पालिका डायरी
२१ कार्तिक २०८१, ०९:०८

पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनमा मध्यराति बस र मोटरसाइकल ठोकिँदा एक युवकको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

चितवनको रत्ननगर नगरपालिका-२ सब्जीमण्डीमा गएराति बस र तीन जना सवार मोटरसाइकल आपसमा ठोकिँदा एकको मृत्यु भएको हो भने दुई गम्भीर घाइते भएका हुन् ।

गएराति १२ बजेतिर हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको मधेस प्रदेश०१–००१ ख ०४५७ नम्बरको बस र टाँडीबाट खैरहनीतर्फ आउँदै गरेको ना २४ प १९१८ नम्बरको मोटरसाइकल आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए ।

उनका अनुसार एउटै मोटरसाइकलमा तीन जना सवार रहेको पाइएको छ । बस र मोटरसाइकल एकाआपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार तीनैजना गम्भीर घाइते भएका थिए ।

जसमध्ये चितवनको रत्ननगर नगरपालिका-१३ अमिलियाका अन्दाजी २१ वर्षीय सुनिल पौडेलको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचारका क्रममा गएराति १ बजे उनको मृत्यु भएको प्रहरीका प्रवक्ता रिजालले जानकारी दिए ।

यस्तै सोही स्थानका २० वर्षीय साहिल परियार र अन्दाजी २१ वर्षीय सञ्जय लामाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बस चालक सिराहा मिर्चैया नगरपालिका-९ बस्ने बर्ष ४६ को सुनिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी रिजालले जानकारी दिए ।

प्रतिक्रिया
chitawan-accident_A5gKsCDHgO