रवि लामिछानेसहित चार जनालाई अदालत पुर्याइयो, रास्वपाको विरोध प्रदर्शन
सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालत लगिएको छ ।
कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण रविलाई आज मात्र अदालत लगिएको हो । रविसँगै पूर्व डीआइजी छविलाल जोशी, लिला पछाई र व्यवसायी रामबहादुर खनाललाई पनि म्याद थपका लागि कास्की जिल्ला अदालत पुर्याइएको छ ।
उनीहरुलाई म्याद थप गर्ने कि रिहा गर्ने सबै अधिकार न्यायाधीशलाई हुनेछ । आज कास्की अदालतबाट म्याद थप भए रविलाई बयानका लागि छठपछि रुपन्देही लैजाने तयारी छ । कास्की अदालतले रिहा गर्ने निर्णय गरेमा उनलाई रिहा लगत्तै रुपन्देही प्रहरीले पक्राउ पर्नेछ ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट रास्वपाका सभापति लामिछानेको नाममा ऋण प्रवाह भएको भेटिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछाने पक्राउको विरोधमा आज पोखरामा प्रदर्शन गरेको छ । रास्वपाको पोखरास्थित प्रदेश कार्यालयबाट शुरु भएको विरोध प्रदर्शन जिरोकिमी हुँदै सिर्जनाचोकतर्फ अघि बढेको छ।
विरोध प्रदर्शनमा भने निकै न्यून संख्यामा कार्यकर्ता छन् । उनीहरुलाई नेपाल प्रहरीले सुरक्षा घेराभित्रै राखेर प्रदर्शन गर्न दिएको छ । प्रदर्शनका क्रममा नालायक सरकार मुर्दावाद, भ्रष्ट सरकार चाँहिदैन जस्ता सरकार विरोध नारा घन्काइएका छन् । रास्वपाले सभापति लामिछाने पक्राउलाई राजनीतिक प्रतिशोध भन्दै आएको छ ।
रविलाई पक्राउ गरेर कास्की ल्याएसँगै रास्वपाले देशभरका कार्यकर्ता पोखरा उतारेर आन्दोलन गरेको थियो। केहीअघि एक साता पोखरामा प्रदर्शन गरेका रास्वपाले आन्दोलन तुहिँदै जान थालेपछि काठमाडौँ केन्द्रित आन्दोलन शुरु गरेको थियो । सो पार्टीले तिहार पर्वलाई मध्यनजर गर्दै आन्दोलन रोकेको थियो ।