६ दिनसम्म सिस्नेरी पहिरो फसेका चालकहरुको दुखेसो, तीन पोका चाउचाउले प्राण जोगियो
शुक्रबार दिउँसो २ बजेको समयमा हेटौंडाबाट काठमाडौंका लागि ७ जना यात्रु लिएर यात्रा सुरु गरेका थिए २५ बर्षीय चालक अमृत लामाले । उनले चलाएको बागमती प्रदेश ०३ ००१ ज ०६६६ नम्बरको इभी भ्यान हेटौंडा–कुलेखानी–सिस्नेरी हुँदै काठमाडौं पुग्नु थियो । बिहीबारदेखि नै झमझम परेको पानीले हेटौंडाबाट ५ किलोमिटरको दूरी पार गर्न नपाउँदै भीमफेदी–१ स्थित बागझोराले झण्डै एकघण्टा अल्मल्यायो । बागझोराको खहरेको भेल तर्न नसकेपछि उनी लगाएत अन्य सवारीहरु त्यहीँ रोकिए ।
पानी केही कम भएपछि उनीहरुको यात्रा अघि बढ्यो । तर करिब ४ घण्टामा काठमाडौं पुगिन्छ भन्ने सोचेर यात्रा तय गरेका यात्रु र सवारी चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका कट्न पाएनन् । भीमफेदी देखि पहिरोका कारण जाममा पर्दै रातको ८ बजे सिस्नेरी पुगेका उनीहरुको रात त्यतै बित्यो । अविरल बर्षाका कारण आएको पहिरोले सिस्नेरी बजार कट्ने बित्तिकै सडक बगायो। काठमाडौं तर्फ लाग्ने सडकमा पहिरो आएर बस्यो ।
‘रातिको समय थियो, सडक सफा गर्न सकिने अवस्था नै रहेन,’ चालक अमृतले भने, ‘त्यो रात हाम्रो गाडिमा रहेका ८ जनाले त्यतै कटायौं । रातभर परेको पानीले यात्रुहरु अत्तालिएका थिए । कुलेखानी ड्याम खोल्ने सूचनाले झन् तनाबमा थियौं । पानी तिर्खा लाग्दा पनि गाडिबाट निस्कन नसकेर प्याक प्याक भएरै रात बितायौं ।’
बिहान रिमरिम उज्यालो भयो । गाडिमा रहेका सबैलाई कहिले उज्यालो होला र डोजर ल्याएर बाटोको माटो पन्छ्याएर गन्तव्य तर्फ लागौंला भन्ने थियो । अमृतले थपे, ‘तर उज्योलो भएपछि हामी झन् आत्तियौं । हेर्दाहेर्दै सिस्नेरी बजार बगरमा परिणत भयो । हाम्रो गाडि रोकिएको ठाउँ वरपरका सबै सडकहरु भासियो । सँगै जाममा बसेको एउटा गाडि त पहिरोसँगै सडकबाट तल खस्यो ।’ शुक्रबार रातिदेखि पहिरोमा फसेका उनीहरुको छैठौं दिन अर्थात बुधबार काठमाडौं पुगे । पहिरो पन्छाएर सडक मर्मत गर्ने काम भएर गन्तव्यतर्फ लाग्न पाएपछि ठुलै कालबाट बाँचिए झै भएको उनी बताउँछन् ।
सोही सडकमा शुक्रबारदेखि नै पहिरोमा फसेर सूर्य गोले पनि यता न उता भएका थिए । २३ बर्षका सूर्यले चलाएको ना १ ज ६२६४ नम्बरको सुमो सिस्नेरी नजिकै रहेको रामचन्द्र भञ्याङको पहिरोमा फस्यो । अगाडि पछाडि नै पहिरो झरेपनि सुमो र सुमोका यात्रुहरु न हेटौंडा फर्कन पाए, न त काठमाडौंतर्फ नै अघि बढ्न सके ।
‘शुक्रबार दिउँसो ३ बजे हेटौंडाबाट हिडेँका थियौं, चालक सूर्यले भने, ‘सिस्नेरीसम्म आइपुग्न ७ घण्टा लाग्यो । सानातिना पहिरो छिचोल्दै त्यहाँसम्म पुगेका हामीले यहाँभन्दा अगाडिको यात्रा गर्न सकेनौं । त्यति मात्रै होइन, पहिरोले कुनबेला पुर्ने हो ? भन्ने डरले सास नै रोकिएला जस्तै भएको थियो ।’
उनले चलाएको सुमोमा ८ जना यात्रु थिए । सूर्यका अनुसार ती यात्रुहरु रातभर नै रोएरै बसे । अन्नधुन्न परेको पानीले कतै केही बाँकी नरहेको पहिरोमा फसेका उनीहरुलाई कहिले उज्यालो होला र उद्धार गर्ने मानिसहरु आइपुग्लान् भन्ने लागिरह्यो । उज्यालो हँदा नहुँदै सिस्नेरी बजार बगाएको दृश्यले यात्रुहरु रुँदै बसेको सूर्य सुनाउँछन् ।
बाटो खुलाउन नसक्ने जानकारी आएपछि यात्रुहरुले हिडेँरै काठमाडौं पुग्ने निधो गरे । सामान सबै सुमोमै छोडेर यात्रुहरु शनिबार दिउँसो नै काठमाडौं हिडेँको उनी बताउँछन् । अरुको गाडिमा भाडा तिरेर आउनुभएको यात्रुहरु त हिडेँरै भएपनि जाने निर्णय गररे जानुभयो, सूर्य भन्छन्, ‘गाडिमा टन्न मान्छे हुँदा मलाई ढाडस भएजस्तै लागेको थियो । तर जब म एक्लै परेँ, त्यसपछि यति अत्यास लाग्यो कि म बयान नै गर्न सक्दिनँ ।’
शुक्रबार खाजा खाएर हिडेँका उनको पेटमा आइतबार दिउँसोतिर एक पोका चाउचाउ पर्यो । ‘पसलहरु सबै बगाएको थियो । एउटा पसल रहेछ अलिमाथि । त्यहाँ पुग्न ४५ मिनेटजति लाग्ने । यो ६ दिनको अवधिमा ३ पोका चाउचाउ र दुई बोटल पानी पेटमा पर्यो । मरिएला कि भन्ने डर लागेको बेला के भोक ? के को तिर्खा भनेजस्तै हुँदो रैछ,’ सूर्यले मलिन स्वरमा भने।
इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीका अनुसार उक्त सडकमा सयभन्दा बढी सवारी पहिरोमा फसेको भन्ने सूचना आएपनि प्रतिकुल मौसमका कारण उद्धार गरेर गन्तव्यतर्फ पठाउन नसकिएको हो । ‘जताततै धाँजा फाटेको सडक छ । पहिरोले एक ठाउँबाट अर्कोठाउँसम्म पुग्नै कठिन छ, अध्यक्ष पुडासैनीले भने, ‘सोही कारण अहिले हामीले प्रदेश सरकार, संघ सरकारलाई गुहारेर बाटो सफा बनाउने कोसिसमा जुटेका छौं ।’
यता, बागमती प्रदेशका भोतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्के, संघीय भौतिक मन्त्री दामोदर भण्डारी तथा एमाले सचेतक महेश बर्तौलाको सचिवालय टीम समेत सोही सडकमा अलपत्र परेका यात्रुहरुको उद्धार कार्यमा जुटेको बताइएको छ । सडक डिभिजन कार्यालय हेटौंडाको हेभी इक्यूपमेन्टका जेसिबी मेसिनहरुले सडक मर्मत गर्दै सवारी पास गराउन आफुहरु लागि परेको प्रदेशका भौतिक पूर्वाधार मन्त्री अमन कुमार मास्केले बताए ।
‘बाटोमा फसेका यात्रुहरुको बिजोक देख्न नसकेर म लगायतको टीम हिजो दिउँसोदेखि रातको २ बजेसम्म सोही सडकमै रह्यौं,’ मास्केले भने, ‘५-६ दिनसम्म खाना खान नपाएर, पहिरोले कुनबेला पु्र्ला भन्ने डर एकातिर, अर्कोतिर नेटवर्क नभएका कारण आफन्तहरुसँग यहाँ छु सम्म पनि भन्न नपाएका चालकहरुको अवस्था देखेर माया लाग्यो । उहाँहरुलाई यहाँबाट उद्धार गर्न पाए हुन्थ्यो भनेर रातारात नै काम गरियो । स्काभेटर लगाएर पहिरो हटाएपछि आज बिहान ३० वटा गाडिहरु आफ्नो गन्तव्यतर्फ गए ।’
निरन्तर परेको बर्षाका कारण उनीहरुको उद्धार गर्न ढिलो भएकोे स्वीकार गर्दै मन्त्री मास्केल भने, ‘उद्धारकार्यमा ढिलो भएको पक्कै हो । तर बाढी पहिरो नै काबु बाहिरको परिस्थिती सिर्जना भएकोले हामीले चाहेर पनि यहाँसम्म आइपुग्न सकेका थिएनौं ।’
त्यसोत, प्रदेशको भौतिक मन्त्रालयले केही महिना अघि बनाएको क्वीक रेस्पोन्स टीमले यो विपद्का बेला सडक सञ्चालनका लागि तीव्र रुपमा काम गरेको मास्के बताउँछन् । मन्त्री मास्केका अनुसार उक्त हेटौंडा–भीमफेदी–सिस्नेरी–काठमाडौंको सडकखण्डमा करिब डेढ सय गाडिहरु शुक्रबारदेखि फसेका थिए ।