श्रीमती र डेढ वर्षीय छोरा भेट्न जाँदै थिए सुमन, झ्याप्लेखोलामै बिलायो बेलायत जाने सपना

पालिका डायरी
१५ आश्विन २०८१, १०:२७
श्रीमती र डेढ वर्षीय छोरा भेट्न जाँदै थिए सुमन, झ्याप्लेखोलामै बिलायो बेलायत जाने सपना

बिहीबार बिहानैदेखि झमझम परेको पानी । भेलिपल्ट अर्थात् शुक्रबारका दिन जसरी पनि काठमाडौँ पुग्नु थियो चितवनका सुमन बजगाईंलाई ।

श्रीमती डिनिशा पोखरेल बजगाईंको परिक्षा थियो । श्रीमतीको परीक्षाको दिनमा सानो छोरा हेर्न पर्ने सुमनको बाध्यता थियो । सँगसँगै छोरा र श्रीमती भेट्न पनि सुमन काठमाडौँ  हिडेँका थिए ।

रत्ननगर नरपालिका–१२ जमुनापुरका ३५ वर्षीय सुमन काठमाडौँ जानका लागि शुक्रबार दिउँसो माइक्रोबस चढे । सुमनकी श्रीमती डिनिशा केही महिनादेखि काठमाडौँनै बस्दै आएकी थिइन् । यूके (बेलायत) जानका लागि काठमाडौँ बसेर पढिरहेकी उनले आफ्नो परीक्षा भएको कारण सुमनलाई काठमाडौँ बोलाएकी थिइन् ।

परीक्षा सकाएर सँगै चितवन फर्कने तयारीका साथ सुमन घरबाट काठमाडौँ गएको सुमनका काका कृष्ण बजगाईं बताउँछन् ।  ‘बुहारी यूके जान लागेकी थिइन्, उनकै परीक्षा छ भनेर छोरो काठमाडौँ आएको थियो,’ बजगाईंले  भने, ‘बाटोमा हुँदा छोरा बुहारीको कुरा भइरहेको थियो रे । पानीका कारण मुग्लिनको बाटोमा ठाउँ/ठाउँमा पहिरो खसेको कारण काठमाडौँ पुग्न धेरै बेर लाग्यो । जाममा परेको छु भनेर बुहारीसँग कुरा भएको थियो रे । त्यसपछि फोन, खबर खाबर केही भएन ।’

उनले मलिनो स्वरमा थपे, ‘पहिरोमा परेर यस्तो अवस्था भइसकेको रहेछ ।’ सुमन र डिलिशाको ५ वर्षअघि बिवाह भएको थियो । उनीहरूका डेढ वर्षका एक छोरा छन् । सुमनले रत्न नगरमा पोल्ट्रि व्यवसाय गर्दै आएको रत्ननगर नगरपालिका–१२ का वडाअध्यक्ष सुन्दरमणी सुवेदीले बताए ।

अरु समयमा प्रायः मोटरसाइकलमै यात्रा गर्ने सुमनले त्यो दिन बाटो खराब छ भन्दै माइक्रोमा काठमाडौँ  निस्किएका थिए । सोही वडाका वडासदस्य किसन बजगाईंका अनुसार सुमन चितवन आसपासमा यात्रा गर्दा प्रायः कहिल्यै सार्वजनिक सवारीमा यात्रा गर्दैनथे ।

सुमनका दाजु समेत नाता पर्ने वडासदस्य किसनले भने, ‘टाढा जाँदा मौसम सफा भएको बेला मोटरसाइकल नै लान्थ्यो । पानी परिरहेको कारण त्यो दिन गाडिमा गएछ । यस्तो घटना घट्न पुग्यो ।’

सुमनका ६५ बर्षका बुवा हरि बजगाईँ र ६१ वर्षकी आमा चन्द्रामाया बजगाईं हाल आफ्नो कान्छो छोराको शवको पर्खाइमा तड्पिरहेका छन् ।

सुमन बा ३ ख १३४५ नम्बरको माइक्रो बसमा सवार थिए । नारायणगढको पुलचोकबाट काठमाडौँका लागि छुटेको थियो ।

प्रतिक्रिया