चणिकलाललाई सम्मान गर्दै प्रचण्डले भने- सरकारले गर्न नसकेको काम गरेकामा धन्यवाद

पालिका डायरी
१३ आश्विन २०८१, १६:५०

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवक’ चणिकलाल तामाङलाई सम्मान गरेका छन् ।

उनले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गरेका हुन् ।  तामाङले हिजो शनिबार ललितपुर महानगरपालिका-२५, सुगमटोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाएका थिए। टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरू टहरासँगै बगेका थिए ।

खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्‍याएपछि तामाङले उद्धारका लागि उर्लँदो भेलमा हाम फालेका थिए  । सँगै बगेका राजुका भाइ २२ वर्षीय राज आफैँ पौडेर बाँच्न सफल भएका थिए। राजकी छोरी ४ वर्षीया सेतु साहको अवस्था अज्ञात छ।

तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिए । संकटका बेला नै बहादुरहरूको जन्म हुने भन्दै उनले तामाङलाई ‘साहसी युवा’को रूपमा सम्मान गरिएको बताए।

प्रतिक्रिया