काठमाडौँ उपत्यकामा बाढी-पहिरोमा परेर २१ जनाको मृत्यु

पालिका डायरी
१२ आश्विन २०८१, १३:३९
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

बाढी पहिरोमा परेर गएरातिदेखि शनिबार बिहानसम्म काठमाडौँ उपत्यकमा २१ जनाको मृत्यु भएको छ ।

हालसम्म काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।  काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार वर्षाजन्य विपद्का घटनामा परी पाँच जना बेपत्ता भएका छन् भने नौ जना घाइते भएका छन् ।

बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको छ । बाढीपहिरोबाट काठमाडौँमा चार घर भत्किएका छन् भने दुई सय २६ घर डुबानमा परेका छन् । ललितपुर र भक्तपुरका धेरै घरमा पानी पसेको छ ।

विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौँमा तीन हजार ६०, ललितपुरमा नौ सय ३० र भक्तपुरमा एक सय २० जना नेपाल प्रहरीको जनशक्ति खटिएको उपत्यका प्रहरीका कार्यालयका प्रवक्ता घिमिरेले जानकारी दिए ।

यसैबीच विपद्को जोखिमका आधारमा काठमाडौँमा थप ४०, ललितपुरमा २५ र भक्तपुरमा १५ जना थप जनशक्तिसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया