मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा
अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ । सिस्नेरी प्रहरी चौकीका इन्चार्जप्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिए ।
बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन् । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज बिहान बाँधका दुईवटा ढोका खोलिएका थिए ।
अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ सडक अवरुद्ध भएको छ। पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ, कुलेखानी–फाखेल–काठमाडौँ, कुलेखानी–मातातीर्थ–काठमाडौँ र त्रिभुवन राजपथ अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ ।
स्थानीय तह, सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए ।

