सिस्नेरीमा पहिरोसहितको बाढीले बगाउँदा ६ विद्यार्थी बेपत्ता
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीमा रहेको बत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका ६ जना विद्यार्थीलाई बाढीले बगाएको छ ।
आज बिहान ६ बजेतिर सिस्नेरी खोलामा आएको बाढीले बगाउँदा ६ जना बेपत्ता भएको एकेडेमी संयोजक सुवासचन्द्र ठकुरीले जानकारी दिए । कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा बाढीले बगाएको ठकुरीले बताए ।
कूल ४० विद्यार्थीमध्ये ६ जनालाई बगाएको ठकुरीको भनाइ छ । ‘बिहानै कुलेखानी ड्यामका दुवै ढोका खोलिएको सूचना आयो’, ठकुरीले भने, ‘विद्यार्थीहरूलाई सुरक्षित स्थानमा लगिँदै थियो। आत्तिएर छोटो बाटोको प्रयोग गर्न उकालो चढेका उनीहरूलाई पहिरोसहित आएको बाढीले बगायो ।’ उनका अनुसार हालसम्म पनि उनीहरूको अवस्था अज्ञात छ ।
एन्फाले गत वर्ष उक्त विद्यालयसँग सहकार्य गरेर ४० विद्यार्थीलाई एकेडेमीमा राखेको थियो।
प्रतिक्रिया

