नारायणगढ-मुग्लिन सडकखण्डमा आज राति सवारी चलाउन रोक
नारायणगढ–मुग्लिन सडकखण्डमा शुक्रबार (आज) रातको समयमा सवारी चलाउन नपाइने भएको छ । बिहीबार रातिदेखि निरन्तर परेको वर्षाका कारण भइपरि आउने जोखिम न्यूनीकरणका लागि रातको समयमा सवारी चलाउन नदिइने भएको हो ।
आज साँझ ७ बजेदेखि शनिबार (भोलि) बिहान ५ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा अत्यावश्यक बाहेकका कुनैपनि सवारी चल्न नदिइने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
पहिरोको जोखिम रहेको उक्त सडकमा रातको समयमा सवारी साधन चलाउन रोक लगाउने निर्णय भएको यादवले बताए । ‘दिउँसोको समयमा पहिरो झरेको देख्न सकिन्छ,’ प्रमुख जिल्ला अधिकारी यादवले भने, ‘रातको समयमा केही देखिदैँन । जसका कारण यसअघिका जस्ता ठुला दुर्घटना हुन सक्छन् । यस्ता घटना नघटोस् भन्ने उदेश्यले सवारीमा रोक लगाउने निर्णय गरेका हौँ ।’
उनका अनुसार काठमाडौँबाट चितवनतर्फ आउने सवारीलाई मुग्लिनमा रोकिनेछ भने चितवनबाट काठमाडौँ जाने सवारीलाई रामनगरमा रोक्ने व्यवस्था मिलाइएको छ । जसका लागि जिल्ला ट्राफिक कार्यालय चितवनबाट ट्राफिक प्रहरीहरू खटाइने यादवले बताए ।

