भेट्रान्स भलिबल प्रतियोगिताको उपाधी नारायणी कलेजको पोल्टामा

हेटौंडा / भेट्रान्स भलिबल प्रतियोगिताको उपाधी नारायणी कलेजले चुमेको छ । मकवानपुर जिल्लामा पहिलो पटक आयोजना भएको भेट्रान्स भलिबल प्रतियोगिताको उपाधी नारायणी कलेजले जितेको हो ।
हेटौंडाको हुप्राचौरमा शनिबार भएको फाइनल खेलमा भीमफेदी गाउँपालिकालाई ३/१ को सेटमा पराजित गर्दै नारायणी कलेज भेट्रान्स भलिबलको च्याम्पियन बनेको हो । पहिलो सेट २५/१८ ले गुमाएको नारायणी कलेजले दोस्रो सेट २५/११, तेस्रो सेट २५/२१ र चौथो सेट २५/१८ ले विजयी बन्न सफल भयो । विजेता टिम नारायणी कलेजलाई नगद ३० हजार रुपैयाँ र उपविजेता टिम भीमफेदी गाउँपालिकालाई नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो।
आज भएको खेलको म्यान अफ द डे मकवानपुरगढीका खेलाडी शंकर गौतम घोषित भए । उक्त पुरस्कारको प्रायोजन हेटौंडा १० मा रहेको नारायणी कलेज तथा तुल्सी मेहर माध्यमिक विद्यालयले प्रायोजनन गरेको थियो ।
प्रतियोगितामा भीमफेदी गाउँपालिकाका रत्न सिद्धि लामा उत्कृष्ट स्पाइकर, नारायणी कलेजका प्रकाश चौलागाई उत्कृष्ट खेलाडी, विनोद श्रेष्ठ उत्कृष्ट लिफटर र नविनराज बाहक उत्कृष्ट डिफेन्डर, ईश्वर छत्कुली उत्कृष्ट कोच घोषित भए । केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान हेटौंडाको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका ११ वटा टिमको सहभागिता रहेको थियो ।
