ट्रक त्रिशूलीमा खसालेर चालक भागेको आशंका, चलानीबाट खुल्यो परिचय
नारायणगढ-मुग्लिन सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालामा त्रिशूली नदीकिनारमा खसेको ट्रकका चालक यमबहादुर घले रहेको खुलेको छ ।
चितवन प्रहरीका अनुसार ट्रकमा भेटिएको चलानीमा चालक यमबहादुर घले उल्लेख गरिएको पाइएको हो । ट्रक दुर्घटनापछि चालक घले त्रिशूलीमा बेपत्ता नभएर फरार रहेको अनुमान प्रहरीले गरेको छ। चालक त्रिशूलीमा परेर बेपत्ता भएजस्तो कुनै प्रमाण हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो ।
ट्रकमा भेटिएको सामानको चलानीमा उल्लेख नाम र मोबाइल नम्बरअनुसार ट्रक चालक घलेको खोजतलास अघि बढाइएको चितवन प्रहरीका सूचना अधिकारी, प्रहरी नायब उपरिक्षक (डीएसपी) भेषराज रिजालले बताए ।
‘चलानीमा उल्लेख नामअनुसार चालकको नाम यमबहादुर घले भएको पाइएको छ’, डीएसपी रिजालले भने, ‘चालक हेटौँडाको भएको भन्ने कुरा आएको छ । चलानीमा लेखिएको मोबाइल नम्बर पनि स्विच अफ छ ।’
अहिलेसम्म ट्रकमा चालकबाहेक अरू को थिए भन्ने विषय पनि पत्ता लागेको छैन । ट्रकधनी पनि पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सवारीधनी फेला परेपछि बाँकी विवरण खुल्न आउने चितवन प्रहरीको विश्वास छ ।
आइतबार (आज) बिहान ना ६ ख ६२८३ नम्बरको ट्रक सिमलतालबाट त्रिशूली नदी किनारमा खसेको हो । २२५ कार्टुन आरएमसी कम्पनीका सूर्यमुखी खानेतेल लिएर काठमाडौँ जाँदै गरेको ट्रक दुर्घटनामा परेको हो।