हेटौंडामा पहिलो पटक लाईभ सेलो साँझ हुने

पालिका डायरी
९ भाद्र २०८१, १५:४२
हेटौंडामा पहिलो पटक लाईभ सेलो साँझ हुने

हेटौंडा /  हेटौंडामा पहिलो पटक लाईभ सेलो साँझ हुने भएको छ । एक तामाङ घर, एक डम्फु भन्ने मुल नारासहित ओपेरा इन्फोटेन्मेन्ट मिडिया प्रा।लि।को आयोजनामा आउँदो असोज १९ गते कार्यक्रम हुन लागेको हो ।

आयोजकले हेटौंडामा आइतबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमको बारेमा जानकारी गराएका हुन् । नेपालीहरूको महान चाड बडा दशैंको शुभकामना आदानप्रदान सहित तामाङ समुदायको संस्कार, संस्कृति, कला, भेषभुषा र भाषाको संरक्षण, तामाङ मौलिक गीत संगीत र बाजाबारे जागरण ल्याउने तथा मकवानपुरे तामाङ कलाकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको ओपेराका सञ्चालक बिक्रम लुङ्बाले जानकारी दिए ।

सेलो साँझमा मकवानपुरे कलाकारहरू सेलो गायक तथा संगीतकार प्रकाश तामाङ तितुङ र सुमिना लोको गायन प्रस्तुति लगायत अन्य विभिन्न प्रस्तुति समेत रहने बताए । कार्यक्रम हेटौंडा–२ स्थित पल्पसा हलमा दिउँसो २ बजेबाट सुरु हुने र कार्यक्रमको प्रवेश शुल्क भने पछि तोकिने आयोजकले बताएका छन् ।

प्रवेश शुल्कले कार्यक्रममा उपस्थितीको संख्यालाई पनि व्यवस्थापन गर्ने तथा व्यवस्थित बनाउन सहयोग गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया