लागु औषध तथा सालकको खपेटासहित ६ जना पक्राउ
Ai photo
जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रतिबन्धित लागु औषध तथा सालकको खपेटा सहित ३ किशोर सहित ६ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ का १८ बर्षीय हुमन कार्की, १८ बर्षीय सम्बीर सुयल र अमृत नेपाली रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
सगरमाथा लोकमार्ग अन्तर्गत लहान गाईघाट सडक खण्डको त्रियुगा नगरपालिका– ६ लालपत्तास्थित उदयपुरको सिमा नाकामा रहेको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले चेक जाँचमा उनीहरुको साथबाट बुप्रोनोर्फिन, प्रोमेथारजिन र डाइजापाम गरी ६५ एम्पुल प्रतिबन्धित लागु औषध बरामद गरेको हो । लागु औषध बरामद भएसँगै उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तिनै जनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट आवश्यक थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी बेलका नगरपालिका– ३ रामपुरठोक्सिलाको गिनेरी खोला बगरबाट सालकको खपेटा सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बेलका नगरपालिका– ३ का ४८ वर्षिय कृष्णराज मगर, बेलका नगरपालिका– ६ का ५६ वर्षिय डिकबहादुर पुर्वछाने मगर र सप्तरीका ५५ वर्षिय उमेशप्रसाद चौधरीलाई ३ किलो ७१२ ग्राम सालकको खपेटा ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरू सवार बा.८२ प ८८०५ र को.११ प ७६२१ नम्बरको २ वटा मोटरसाइकल समेत बरामद गरेको जनाएको छ । पक्राउ परेका सबै व्यक्तिहरूको सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारबाही भइ रहेको प्रहरीले जनाएको छ ।

