वर्षाका कारण हेटौंडामा विद्युत प्राधिकरणको पर्खाल ढल्यो
हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङमा अवस्थित नेपाल विद्युत प्राधिकरणको पर्खाल भत्किएको छ। स्थानीय बासिन्दाहरूका अनुसार, मंगलबार दिउँसो २ देखि ३ बजेको बीचमा भारी वर्षाका कारण यो घटना भएको हो।
सिमलटारतर्फको करिब २० मिटर लामो पर्खाल ढलेका कारण त्यस क्षेत्रमा आवागमन अवरुद्ध भएको छ। स्थानीयहरूको भनाइमा, पुरानो पर्खालको जग कमजोर भएको र प्राधिकरणले भित्रपट्टि डीपीसी (ढलान) गर्ने काम गरिरहेको हुनाले पर्खाल भत्किएको हुनसक्छ।
यो घटना नयाँ होइन। करिब ३-४ वर्षअघि पनि यही स्थानमा पर्खाल ढलेको थियो। यो बाटो सिमलटार जाने मुख्य मार्गहरू मध्ये एक हो, जहाँबाट विद्यालयका बस, अन्य सवारी साधन र सयौँ मानिसहरू दैनिक आवतजावत गर्छन्।
स्थानीयहरूले प्राधिकरणप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूका अनुसार, पटक-पटक पर्खाल ढल्दा पनि प्राधिकरणले नयाँ पर्खाल निर्माणमा ध्यान दिएको छैन। हालसम्म कुनै मानवीय क्षति नभए पनि यस क्षेत्रमा ठूलो जोखिम रहेको उनीहरूको भनाइ छ।
थप चिन्ताको विषय के छ भने प्राधिकरणको अन्य क्षेत्रका पर्खालहरू पनि सुरक्षित नरहेको स्थानीयहरूले बताएका छन्।


