शिवम् सिमेन्टद्वारा १० बालबालिकालाई छात्रवृत्ति प्रदान
हेटौंडा / मकवानपुरमा रहेको शिवम् सिमेन्ट लिमिटेडले आफ्नो कारखानामा कार्यरत श्रमिकहरुका १० जना अध्ययनशील उत्कृष्ट छोराछोरीलाई छात्रवृत्ति प्रदान गरेको छ।
गत शुक्रबार शिवम् सिमेन्ट लिमिटेडको सभाहलमा भएको एक कार्यक्रमका बीच उक्त छात्रवृत्ति बापतको रकम प्रदान गरिएको हो। कारखानामा कार्यरत श्रमिकका कक्षा १ देखि कक्षा १० सम्मका बालबालिकालाई प्रति व्यक्ति ११ हजार रुपैयाँको दरले छात्रवृत्ति बापतको रकम हस्तान्तरण गरिएको शिवम् सिमेन्ट लिमिटेडको प्रशासन प्रमुख सुशीला दाहालले जानकारी दिनुभयो।
शिवम् सिमेन्टका डाइरेक्टर सुहाङ्ग लिउको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समग्र उद्योग ट्रेड युनियन सिवम सिमेन्टको कार्यसमिति सदस्य सम्भु लामाको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा आफ्नो भनाइ राख्दै विशेष अतिथि सम्भु लामाले कारखानामा कार्यरत श्रमिकहरुलाई कारखानाले यति भएपनि सम्झेर अध्ययनशील विद्यार्थीलाई अझ हौसला मिलेको बताए। उनले यो छात्रवृत्ति प्राप्त गर्नमा आफ्नो पनि ठूलो भूमिका रहेको र आगामी दिनमा पनि अझ बढाएर लैजाने विश्वास व्यक्त गरे।
कार्यक्रममा मजदुर नेताहरु कमल लामा, विजेश बासुकला लगायतको उपस्थिति रहेको थियो।


