माताले बिहे गर्न दबाब दिएपछि युवकले गरे हत्या

पालिका डायरी
२८ श्रावण २०८१, १४:३५
होटल संचालन गर्दै आएकी एकल महिलाको हत्या

रुकुम पश्चिमको सानिभेरी गाउँपालिका–४ लामाचौरकी माता भनिने ४९ वर्षीया शुशिला मल्लको हत्या उनकै प्रेमीले गरेको खुलेको छ ।

शुशिलाको हत्या आरोपमा प्रहरीले चौरजाहरी नगरपालिका–११ माथिल्लो सर्केनाका २३ वर्षीय प्रेम मल्ललाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ ।

साउन २३ गते प्रेमले नै शुशिलाको हत्या गरेको रुकुम पश्चिमका डीएसपी नवराज पोखरेलले दाबी गरे । उनका अनुसार शुशिलाले बिबाह गर्न दबाब दिएपछि प्रेमले उनको हत्या गरेका हुन् । शुशिला र प्रेमको डेढ वर्ष पहिले जाजरकोटको रिम्ना मेलामा भेटघाट र चिनजान भएको थियो।पछिल्लो ६ महिनादेखि उनीहरू निकट सम्बन्धमा थिए ।

शुशिला एकल महिला हुन् । उनका पतिको १५ वर्ष पहिले नै मृत्यु भएको थियो । उनका तीन छोरा रहेकामा तीनै जना रोजगारीका लागि विदेशमा छन् । एक जना दुबई, अर्का मलेसिया र अर्का भारतमा छन् । शुशिला र प्रेमको पछिल्लो समय भेटघाट बाक्लिएको थियो । प्रेम पटक पटक शुशिलाको घरमा आउने र शुशिला पनि प्रेमको घरमा गएको बस्ने गरेको खुलेको छ ।

प्रेम शुशिलाकोमा आउने र बस्ने गरेको थाहा पाएपछि छिमेकीले शुशिलालाई यस बारेमा सोधेका थिए । तर उनले प्रेम आफ्नो भक्त भएको बताएकी थिइन् । शुशिला माताका रुपमा पनि चिनिन्थिन् । प्रेम धर्मकर्ममा लगाव राख्ने व्यक्तिका रुपमा चिनिन्थे । तर गाउँलेहरूले नै शंका गर्न थालेपछि शुशिलाले अब आफूसँग विवाह गर्न दबाब दिएको प्रेमले प्रहरीलाई बताएका छन् । उनीसँग बिहे गर्नुपर्ने भएपछि हत्या गरेर उम्किन खोजेको उनको प्रारम्भिक बयान छ ।

हत्याको दुई दिन अघि नै प्रेम शुशिलाको घरमा आएर बसेका थिए । साउन २१ गते राति उनीहरुसँगै बसे । २२ गते बिहान उठेर उनी रिम्ना बजार, चाइनाबगरतिर घुमफिर गरेर साँझ पुनः शुशिलाकै घरमा फर्किए । त्यसरात शुशिलाले प्रेमसँगको सम्बन्धका बारेमा गाउँमा थाहा भएको बताउँदै बिहे गर्न भनिन् । तर आफूले बिहे गर्न सक्ने अवस्था नभएकोले हत्या गरेको प्रेमले बताएका छन् । फरामको तावा, सिलौटोर लोराले हानेको र सलले घाँटी कसेर हत्या गरेको खुलेको छ ।

शुशिलाको शव आफ्नो घरको कोठामा फेला परेको थियो । हत्यापछि शुशिलाको मोबाइल पनि प्रेमले लिएर गएका थिए । उक्त मोबाइल पनि बरामद भएको डीएसपी पोखरेलले बताए । हत्यामा प्रयोग गरेका सामान रगत लागेको अवस्थामा प्रहरीले बरामद गरेको छ ।

घटनाको जानकारी पाए लगतै खटिएको प्रहरीले त्यसैदिन उनको संलग्नता रहेको पत्ता लगाएको र भोलिपल्ट पक्राउ गरिएको जनाएको छ ।प्रेमविरुद्ध कर्तव्य ज्यानको कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अगाडी बढाएको डीएसपी पोखरेलले बताए ।

प्रतिक्रिया
hatya palikadiary