चालकको टाउकामा ढुंगा बज्रिँदा पनि ब्रेक लगाउन भ्याउँदा जोगियो ३० जनाभन्दा बढीको ज्यान

पालिका डायरी
२८ असार २०८१, १३:४२

निरन्तर वर्षाका बीच लु२ख ६५६६ नम्बरको बस बिहीबार राति रुपन्देहीको बुटवलबाट ३० जनाभन्दा बढी यात्रु लिएर काठमाडौँका लागि प्रस्थान गर्‍यो ।

बसमा चालक थिए- नवलपरासीको सुनवल नगरपालिका-४ घर भएका ३६ वर्षीय मेघराज विक । बस शुक्रबार (आज) बिहान ३ बजेतिर नारायणगढ-मुग्लिन सडकमा गुड्दै थियो ।

उक्त सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ स्थित १७ किलो भन्ने स्थानमा माथिबाट सडकमा लेदोमाटो झरिरहेको थियो । अँध्याराे नै थियो । चालक विकले बसको गति केही कम गरे । त्यही बेला एक्कासि लेदोसहितको ढ‌ु‌ंगा चालक विकको टाउकोमा बज्रियो ।

बसमा सवार यात्रुहरू निकै अत्तालिए ।  चितवन प्रहरीलाई यात्रुले बताएअनुसार चालक विकले दुखेको तोडमा पनि बस चलाइरहे र ५० मिटरजति पर लगेर ब्रेक लगाउन भ्याए ।

जब होस गुमेकै अवस्थामा भए पनि चालक विकले ब्रेक लगाएकै कारण बस रोकियो र सवार ३० जनाभन्दा बढीको ज्यान जोगियो । उनको अवस्था भने चिन्ताजनक भयो । टाउकोबाट धेरै रगत बग्न थाल्यो । यात्रुहरूले प्रहरीलाई खबर गरिदिए ।

प्रहरीले तुरुन्त एम्बुलेन्स बोलाएर उपचारका लागि विकलाई चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज त पुर्‍याए । तर गम्भीर घाइते विकको उपचारका क्रममा बिहान ४ बजेतिर डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए । उनका अनुसार अन्य यात्रु भने सकुशल छन्।

 

प्रतिक्रिया