दुई लाख पुरस्कार राशीको थाहा गोल्डकपको फाईनल भोली हुने

राज कुमार के.सी.
१५ जेष्ठ २०८१, १०:५०

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा जारी पाचौँ थाहा गोल्ड कप फूटबल प्रतियोगिताको फाईनलमा ॠषेश्वरका ११ र चित्लाङ खेलकुद बिकास समिति पुगेका छन् । फाईनल पुगेका २ टिमले उपाधीको लागि भोली खेल्नेछन् । आज हुने भनिएकाे खेल वर्षाका कारण भोली बिहान ११ वजे हुने  आयोजकले जनाएकाे छ ।

थाहा नगरको इन्द्रायणीचौर खेलमैदानमा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा ॠषेश्वर ११ ले सकृय युवा क्लबलाई ८–२ को गोल अन्तरले पराजित गरेर ऋषेश्वर फाइनल प्रवेश गरेको हो ।

प्रतियोगितामा ऋषेश्वरका लागि संजोग महर्जनले १७ औं मिनेटमा पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । उनले खेलको ५७ औँ र ६० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गरे भने ॠषेश्वरकै रिचर्ड विल्सनले प्रतियोगितामा व्यक्तिगत ४ गोल गर्न सफल भए । उक्त प्रतियोगितामा ४ गोल गर्न सफल रिचर्ड म्यान अफ दी म्याच घोषित भए । ऋषेश्वरका समिरराज थोकरले ३४ औं मिनेटमा तेश्रो गोल गरेका थिए ।

उक्त प्रतियोगितामा सकृय युवा क्लबका लागि सुनिल शाह ठकुरी र सुसन नगरकोटीले सान्त्वना एक/एक गोल गरेका थिए । त्यसै सोमबार नै भएको दोस्रो सेमिफाइनल खेलमा कुर्दन एकेडेमीलाई सडेनडेथ पराजित गर्दै चित्लाङ खेलकुद विकास समिति फाइनल प्रवेश गरेको छ । निर्धारित समयमा दुबै टिमबाट २–२ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । लगातार पेनाल्टीमा समेत बराबर गोल भएपछि खेल सडेनडेथमा पुगेको थियो ।

उक्त खेलमा कुर्दन एकेडेमीका लागि अनिल खडकाले २४ औं मिनेटमा र रोहितले ८२ औं मिनेटमा एक/एक गोल गरेका थिए भने चित्लाङका लागि अफ्रिकी खेलाडी फैसल जफा ४० र ५१ औं मिनेटमा दुई गोल गरेका थिए । थाहा नगर खेलकुद विकास समितिको आयोजना र शिखर क्लबको ब्यवस्थापनमा संचालन भएको प्रतियोगितामा ९ ओटा टिमको सहभागिता रहेको थियो ।

बुधबार बिहान ११ बजे हुने फाइनल खेल बिजेताले नगद २ लाख र उपबिजेताले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया