पशुपन्छी तथा मत्स्यपालक संघ/संस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रिया सम्पन्न

पालिका डायरी
४ जेष्ठ २०८१, २१:५०

हेटौंडा  / पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशको आयोजनामा पशुपन्छी तथा मत्स्यपालक संघ/संस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । शुक्रबार निर्देशनालयको सभाहलमा प्रदेशका विभिन्न जिल्लाका पशुपन्छी तथा मत्स्यपालक संघ÷संस्थाका पदाधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

चालु आर्थिक बर्ष २०८०÷०८१ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार आगामी आर्थिक बर्षमा प्रदेश सरकारले कृषकका लागि बनाउन पर्ने योजना, ल्याउन पर्ने नीति तथा कार्यक्रमका बिषय लगाएतका विविध बिषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा सहभागी किसानहरुले प्रदेश सरकार किसानमैत्री हुनपर्ने बताएका थिए । दूग्ध उत्पादक किसानहरुको दुधको रकम भुक्तानी देखि अनुदानसम्मका गम्भीर बिषयमा प्रदेश सरकार र मातहतका कार्यालयहरुले चासो देखाउन जरुरी रहेको चितवन जिल्ला दूग्ध उत्पादक सहकारी संघका अध्यक्ष शिव प्रसाद पौडेलले बताए ।


यस्तै, कुखुरा पालक कृषकहरुका लागि पनि भ्याक्सिन देखि औषधि उपचार तथा बीमा कार्यक्रममा प्रदेश सरकारको भूमिका पारदर्शी नभएको गुनासो गरेका थिए । किसानलाई प्रदान गरिने अनुदानहरुमा वास्तविक किसान र उसको आवश्यकतालाई पहिचान गरेर मात्रै अनुदान सामाग्रीहरु वितरण गर्न जरुरी रहेको कार्यक्रममा सहभागी संघ संस्थाका प्रतिनिधिहरुले बताएका थिए ।


प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव विनोद भट्टराईको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा कृषि विकास निर्देशनालयका निर्देशक शुधिर श्रेष्ठ, कृषि मन्त्रालयका कृषि विकास महाशाखा प्रमुख भरत विडारी, मन्त्रालयका योजना महाशाखा प्रमुख सुजन कंडेल, मन्त्रालयका प्रमुख प्रशासन महाशाखा प्रमुख गोविन्द सुवेदी लगाएतको आतिथ्यता रहेको थियो ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक गौरीमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उनले किसानहरुले उठाएको विविध सुझावहरुलाई मनन गरेर आगामी आर्थिक बर्षको योजना तयार गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया