उद्योग मन्त्री श्रेष्ठद्वारा नापी कार्यालय हेटौंडाको निरीक्षण

पालिका डायरी
३१ बैशाख २०८१, १६:३४
उद्योग मन्त्री श्रेष्ठद्वारा नापी कार्यालयको निरीक्षण

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले नापी कार्यालय हेटौंडाको निरीक्षण गरेका छन् । सोमबार मन्त्री श्रेष्ठले नापी कार्यालयको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले नापी कार्यालयमा आएका जनगुनासो र कार्यालयमा देखिएको समस्याको समाधानमा लागि पर्न निर्देशन समेत दिएका छन् ।

मन्त्री श्रेष्ठले नापी कार्यालयका प्रमुख नापी अधिकृत खिम बहादुर राना लगाएत नापी कार्यालयमा कार्यरत कर्मचारीहरूलाई नागरिकलाई दिइने सेवामा कुनै कसर बाँकी नराखी सेवा प्रदान गर्न निर्देशन दिएका हुन् । विशेषगरि नापी कार्यालयहरूमा सुशासनको काम नभएको जनगुनासोहरू आउने गरेको हुँदा त्यस कुराको अन्त्य हुने गरि काम गर्न मन्त्री श्रेष्ठले सुझाएका हुन् ।

त्यस्तै, आगामी दिनमा कार्यालयलाई डिजिटल प्रविधि तर्फ लैजान, जनताको समस्या समाधानमा ध्यान दिन आग्रह गर्दै नापी कार्यालयको आवश्यकता र मागहरुलाई आगामी आर्थिक वर्षमा सम्बोधन गरिने प्रतिबद्धता समेत व्यक्त गरे । मालपोत र नापी कार्यालय हेटौंडालाई बागमती प्रदेश भित्रकै नमुना कार्यालयको रुपमा विकास गर्ने योजना रहेको मन्त्री श्रेष्ठको भनाई थियो ।

निरीक्षणको क्रममा नापी प्रमुख रानाले हाल कार्यालयमा भए गरेका गतिविधि, भौतिक तथा कार्यालयको विविध विषयमा मन्त्री श्रेष्ठलाई जानकारी दिएका थिए । साथै कार्यालयका लागि संघीय सरकारबाट बजेटको व्यवस्था नहुने भएको हुँदा आगामी ०८१/०८२ को बजेटमा बागमती प्रदेश सरकारलाई आवश्यक बजेको ब्यवस्था गरिदिन आग्रह समेत गरेका थिए ।

उद्योग मन्त्री श्रेष्ठद्वारा नापी कार्यालयको निरीक्षण

प्रतिक्रिया