मकवानपुरगढीमा सार्वजनिक सुनुवाइ, विपद्का घटनाबाट बचाउन स्थानीयको आग्रह

पालिका डायरी
२७ बैशाख २०८१

हेटौंडा / जनपत्र मिडिया प्रा‍.लि. हेटौंडा–२ को आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा स्थानीय स्तरमा हुने गरेको आगलागी, चट्याङ्ग, बाढी, पहिरो जस्ता विपद्का विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–६ भालुखोलामा कार्यक्रम गरिएको हो । 


कार्यक्रममा सहभागि स्थानीय बासिन्दाहरूले अब हुने गरेका विपद्बाट जोगाउनका लागि बागमती प्रदेशका सांसद, मन्त्री तथा स्थानीय तहका जनप्रतिनिधिहरूसँग आग्रह गरेका छन् । मकवानपुरगढीमा हेटौंडाको शिवम् सिमेन्ट र हेटौंडा सिमेन्ट उद्योगको खानीमा जथाभावी रुपमा उत्खनन गरेका कारण पनि बाढी पहिरोका घटना बढ्दै गएको स्थानीय टिका दाहालले गुनासो गर्नुभयो । विशेषगरी मकवानपुरगढीको बुङदल, सोलिथुमको चुहार लगायतका क्षेत्रमा निकै चट्याङका घटना हुने गरेको सहभागीहरूको गुनासो छ । बिच खोलामा निर्माण हुन लागेको पुल समयमानै नबन्दा पनि बर्षा याममा भेलले गाउँलाई असर गर्ने मकवानपुरगढी ५ का अर्जुन न्यौपानेले बताउनुभयो । 


आगलागी, वन डढेलो जस्ता सवालमा व्यवस्थापनको सवाल नै प्रमुख हो– मन्त्री थपलिया

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आगलागी, वन डढेलो जस्ता सवालमा व्यवस्थापनको सवाल नै प्रमुख रहेको बताउनु भएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वन जोगाउन हिजो जनतामा जुन प्रकारको चासो देखिन्थ्यो आज त्यो नरहेकाे बताउनुभयो । अहिलेको अवस्थामा दैविक प्रकोपबाट जोगाउने विषयमा बेवास्ता बढेकोले चुनौति बढेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो –‘निययन्त्रणको लागि अब सचेतना बढाउनुको अर्को विकल्प छैन । पर्या–पर्यटनालाई जोगाउनु पर्छ । यसमा जनताको चासो र चिन्ता चाहिन्छ । पहिरो नियन्त्रण सम्भव छ । यि सवालहरुमा विज्ञसँग छलफल गरेर आगामी बजेटबाट सम्बोधन गर्न प्रदेश सरकार तयार छ ।’ 

विपद्‍बाट बचाउँदै जीउधनकाे सुरक्षा गर्ने काम जनप्रतिनिधिको हो– वन मन्त्री पोखरेल
बागमती प्रदेशका वन तथा वातावरण मन्त्री केशव प्रसाद पोख्रेलले विपद्‍बाट बचाउँदै जीउधनकाे सुरक्षा गर्ने काम जनप्रतिनिधिको रहेको बताउनु भएको छ । अहिलेको यो सार्वजनिक सुनुवाइ कार्यक्रम उचित समयमा भएको बताउनुभयो । अहिले बजेट र योजना बनाउने बेलामा जनताको गुनासा सुन्न पाउनु भनेको योजनालाई समेट्न सजिलो हुनु रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘जनताको ज्यू धनको सुरक्षा हामी जनप्रतिनिधिहरुको कर्तव्य हो । बन्नेवाला योजनामा जनगुनासाहरूलाई समेट्न कोसिस गरिनेछ ।’ आगलागी नियन्त्रणको लागि पूर्वतयारी आवश्यक भएको आभाष हामीले पनि गरेको मन्त्री पोख्रेलले बताउनुभयो । प्रदेशको कुल भूभागको ५३ प्रतिशत जनिम वनले ढाकेको बताउँदै उहाँले भन्नुभयो–‘वनलाई आर्यआर्जनसँग जोड्न र वनको काठ प्रयोग गर्न प्रदेश सरकारले यसअघि (चैत्र २० गते) नै स्वदेशी काठ मात्रै प्रयोग गर्ने निर्णय गरिसकेको छ । वनमा डढेलो लाग्नै नदिन र वनलाई जनजिविकासँग प्रदेश सरकारलाई दबाब पुगेको छ । स्थानीय समूह, स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारको समन्वयमा यस्ता विपद रोक्नको लागि सहकार्य गर्नुपर्छ ।’

वनमा वन डढेलोले मानवीय क्षतिको समेत जोखिम बढेको छ– प्रदेश सभा सदस्यः भारती पाठक 
बागमती प्रदेशसभाका सदस्य भारती पाठकले वन डढेलोले मानवीय क्षतिको समेत जोखिम बढेको बताउनु भएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो–‘वन डढेको आवश्यक पनि छ तर अहिले व्यवस्थापनको कमजोरी र सिपको अभावको कारण वन डढेलो विपद बन्न पुगेको हो ।’ वनमा डढेलो लाग्न नदिन सचेत हुनु भन्दा लार्पवाही बढी हुन थालेको प्रदेश सांसद पाठकले बताउनुभयो । यसको बारेमा बहस हैन पूर्व तयारी आवश्यक रहेको बताउनुभयो । वनको काठ, जडीबुटी नष्ट भएको बताउनुभयो । अहिले वन जोगाउन जनचेतना सीप पनि चाहिएको छ । अग्नि नियन्त्रणमा लाग्नेहरूको सुरक्षामा प्रदेश सरकारले के गर्दा होला आफ्नो समितिमा समेत सल्लाह गर्ने बताउनुभयो । 

आ–आफ्नो स्थानबाट विपदबाट बच्न ध्यान दिनु जरुरी छ– प्रदेशसभा सदस्य: लक्ष्मी श्रेष्ठ 

बागमती प्रदेशसभाका सदस्य लक्ष्मी श्रेष्ठले सबैले आ–आफ्नो स्थानबाट विपदबाट बच्न ध्यान दिनु पर्ने बताउनुभयो । अहिले बागमती प्रदेश र मकवानपुर जिल्लामा समेत विपद्का घटना धेरै भएकाले यसको पूर्व तयारीमा लाग्न सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।  कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य विन्दु श्रेष्ठ, सकुन्तला श्रेष्ठ, बालकुमारी विश्वकर्मा, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतान, निवर्तमान अध्यक्ष विदुर हुमागाईँ, वडा नम्बर–६ का अध्यक्ष कृष्ण बजगाईँले बिपद्बाट हुने जोखिम नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रम जनपत्र मिडिया प्रालिका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया