बागमती प्रदेशको स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा चितवनका विभिन्न अस्पतालको अनुगमन

पालिका डायरी
६ बैशाख २०८१

मकवानपुर / बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठद्वारा चितवनमा स्वास्थ्य मन्त्रालय मातहत रहेका आयुर्वेद औषधी उत्पादन केन्द्र, बकुलहर रत्ननगर अस्पताल र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको वैशाख ५ गते बुधवार अनुगमन गरेका छन् । 

अनुगमनका क्रममा आयुर्वेद औषधि उत्पादन केन्द्रले (जि. एम. पी. लेआउट ) अनुसारको भवनको निर्माण र मेसिन जडान अन्तिम प्रकृयामा रहेकोले छिटो काम सम्पन्न गरी औषधी उत्पादन गर्न साथै औषधी निर्माण गर्दा गुणस्तरलाई कम्प्रमाइज नगर्न मन्त्री श्रेष्ठले निर्देशन दिए । 

त्यस्तै, मन्त्री श्रेष्ठले  बकुलहर रत्ननगर अस्पतालले प्रदान गरिरहेको सेवाको अनुगमन तथा निरीक्षण गरेका थियो । फार्मेसीबाट उपलब्ध हुने औषधीमा कुनै कम्प्रमाइज  नगर्न  निर्देशन दिए । निःशुल्क फार्मेसीमा उपलब्ध हुने औषधिको लागी एउटा थप काउन्टर स्थापना गर्न मन्त्री श्रेष्ठले सुझाव दिएका छन् ।


त्यस्तै, अस्पतालबाट उपलब्ध हुने सम्पूर्ण सेवाको शुल्कलाई कसरी कम र व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र सेवाग्राहीसँग छलफल समेत गरेका छन् । डायलासिस सेवालाई थप विस्तार गरी २४ सै घण्टा सञ्चालन गराउने व्यवस्था गर्न, अस्पताललाई मृगौला डाईलाईसिस ट्रेनिङ सेन्टर बनाउने आगामी दिनमा बजेट व्यवस्था गर्ने आश्वासन दिए । 

साथै अस्पताललाई भविष्यमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरेर मेडिकल शिक्षा पढाउने  शैक्षिक संस्थाको रुपमा विकास गर्ने मन्त्री श्रेष्ठले बताए  । 

प्रतिक्रिया