बसको ठक्करबाट अमलेखगन्जमा ड्युटीमा खटिएका ट्राफिकको मृत्यु

पालिका डायरी
२४ चैत्र २०८०, १८:२२
बसको ठक्करबाट अमलेखगन्जमा ड्युटीमा खटिएका ट्राफिकको मृत्यु

पूर्वपश्चिम राजमार्गमा पर्ने बाराको जितपुर सिमरा उपमहानगरपालिस्थित अमलेखगञ्ज चोकमा गएराति डियुटीमा खटिएका एकजना ट्राफिक प्रहरी जवानको बसको ठक्करबाट मृत्यु भएको छ ।

शुक्रबार राति सवा नौ बजे काठमाडौंबाट काँकरभिट्टा जाँदै गरेको बागमती प्रदेश ०१-००ख ६१२३ नम्बरको बसको ठक्करबाट अमलेखगन्जमा कार्यरत ट्राफिक प्रहरी जवान २९ वर्षीय मुनटुन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङले जानकारी दिए ।

‘राति चेकिङमा खटिएको बेला बसले ठक्कर दिँदा यादव गम्भीर घाइते भएका थिए । उनलाई तुरुन्तै उपचारको लागि वीरगञ्ज लगिएको थियो,’ प्रहरी निरीक्षक गुरुङले  भने, ‘वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारकै क्रममा राति नै उनको मृत्यु भएको हो ।’

ठक्कर दिने बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ । उनले बसको ब्रेक नलागेका कारण यादवलाई ठोक्किएको बयान दिएका छन् ।  मृतक यादवको शव पोष्टमार्टको लागि वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको इन्सपेक्टर गुरुङले जानकारी दिए ।

झण्डै नौ वर्ष प्रहरी सेवामा विताएका यादवको घर पर्साको छिपहरमाई गाउँपालिका मिर्जापुरमा छ ।

प्रतिक्रिया