वडा अध्यक्ष सिग्देलकाे एक बर्ष अगाडि बोलेका सबै काम पूरा भएको दावी
राम कुमार दानी
हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देलले एक बर्ष अगाडि आफूले बोलेको सबै विकासका कामहरू पुरा भएको दावी गरेका छन् ।
उनले एक बर्ष अगाडि पालिका डायरीको अन्तरवार्तामा बोलेका सबै काम अहिले एक वर्ष भित्र पुरा भएको बताएका हुन् । विशेषगरी शिक्षाको क्षेत्रमा आमूल परिवर्तन गर्छु भन्ने लक्ष्य सहित अगाडि बढिरहेका सिग्देलले स्वास्थ्य र भौतिक पूर्वाधारलाई पनि उतिकै जोड दिएको बताए । उनले शिक्षामा संघ र प्रदेश सरकारले गर्न नसकेको काम आफ्नो वडाले गरेको दाबी समेत गरे । उनले आफूलाई दोस्रो कार्यकालको लागि जनताले जिताएको हुनाले जनता प्रति जिम्मेवार भएर अगाडि बढ्ने बताए ।
तपाईंले एक बर्ष अगाडि बोलेझैँ भौतिक पूर्वाधारको काम पूरा गर्नु भयो त ? भन्ने हाम्रो प्रश्नमा अध्यक्ष सिग्देलले सबै पुरा भएको दावी गरे । उनले अघिल्लो बर्ष अधुरो रहेको कर्रा करिडोर, पशुपति क्षेत्र, क्विक २० क्षेत्र, गर्दही, सूर्य चोक, पारिजात पथ, सुमार्गी कम्प्लेक्स, नन्द स्थान रोड, ब्रह्मदिप अगाडिको रोडको काम आधुनिक स्कुल र हेटौंडा क्याम्पस अगाडिको पानी जम्ने समस्याको समाधान भएको बताए । उनले गर्दही क्षेत्रलार्इ धुलो मुक्त बनाएको दावी गरेका छन् । अध्यक्ष सिग्देलले आफू नतिजा र काममा विश्वास गर्ने मान्छे भएको समेत बताए ।
सिग्देलले भने आफ्नो नियत खराब नहुदाँ नहुँदै पनि कुनै कुनै कुराहरूको परिणाम अर्को आएको बताए । सिग्देलले कर्मचारी र जनप्रतिनिधिको गती एउटै नहुदाँ जनताले दुख पाइरहेको पनि बताए । वडाबासिको आफूलाई पूर्ण साथ र सहयोग भएको हुँदा ४ नम्बर वडा सधैँ अगाडि हुने उनको दावी छ ।
के बोलेको सबै कुरा पुरा भएकाे हो त ? हेर्नुहोस १ बर्ष अगाडि बोलेको भिडियाे