मकवानपुरकाे विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

पालिका डायरी
१९ चैत्र २०८०, २२:०५

हेटौंडा / फास्ट ट्रयाकको सुरुङ तथा पुल निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले आज मकवानपुरकाे विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । चिनियाँ चिकित्सा सहायता अभियान अन्तर्गत मकवानपुरको भीमफेदी, बकैया गाउँपालिकामा रहेका धेद्रे, कोलखोला, महादेवटार, चारघरे, आँपचौर गाउँका स्थानीय र सुरुङ निर्माणमा खटिएका मजदुर कर्मचारीहरूकाे लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । 

सामान्य स्वास्थ्य परीक्षण तथा उपचार गर्न हेटौंडा सम्म पुग्नुपर्ने बाध्यता रहेकोले सामाजिक उत्तरदायित्व स्वरुप कर्पोरेसनले स्वास्थ्य शिविर सञ्चालन गरिएको कर्पोरेसनका मानव श्रोत शाखा प्रमुख यानले जनाएका छन् । स्वास्थ्य शिविरमा करिब २ सय जनालाई निःशुल्क स्वास्थ्य परिक्षण र निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा आउन नसक्ने शारीरिक रुपमा अशक्तलाई कर्पोरेसनले सवारी साधनको व्यवस्था गरेको थियो । 

स्वास्थ्य शिविरमा परिक्षण गर्न आएका अधिकांशमा उच्च रक्तचाप, डायबिटिज, मृगौलामा खराबी, महिलामा छाति तथा स्तनको समस्या जस्ता रोगहरू पाइएको शिविरका टिम लिडर डाक्टर झोऊ गुईमिनको भनाई छ ।


शिविरमा चीनमा उत्पादित औषधि वितरण गरिएको थियो । यस क्षेत्रका स्थानीहरू बिरामी परेर अस्पताल जानु पर्ने भएमा निःशुल्क आफ्ना सवारी समेत उपलब्ध गराउँदै आएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले विकट तथा दूरदराजका ग्रामीणमा स्वास्थ्य सेवाबाट बञ्चित नागरिकलाई आफ्नै खर्चमा गरेको यो कार्य प्रशंसनीय भएको बकैंया–१२ का वडा सदस्य सुजन वाईबाको भनाई छ । कर्पोरेसनले बर्सेनी स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । गतवर्ष पनि सो स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

प्रतिक्रिया