धादिङकी डाक्टर काठमाडौँमा मृत भेटिइन्

पालिका डायरी
१६ चैत्र २०८०, ०९:३३

जिल्ला अस्पताल धादिङमा कार्यरत डाक्टर प्रतिभा धौभडेल काठमाडौँको छाउनीस्थित आफ्नै घरमा मृत फेला परेकी छिन्।

३४ वर्षीय डाक्टर धौभडेल आफ्नै घरको बाथरुममा मृत फेला परेकी हुन्। उनी केही दिनअघि घर बिदामा काठमाडौँ आएकी थिइन्। ‘उनका पति डा.कविराज भण्डारीले बाथरुपमा सलको पासोमा झुण्डिएको अवस्थामा उनलाई फेला पारिएको बयान प्रहरीलाई दिएका छन्,’ प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले  भने, ‘घटनाको सम्बन्धमा हामी थप अनुसन्धान गरिरहेका छौँ।’

काठमाडौँ महानगरपालिका–१३ छाउनीस्थित घरको बाथरुपमा बिहीबार उनलाई झुण्डिएको अवस्थामा फेला पारिएको उनका पति भण्डारीको भनाई छ। कपडाको सलले पासो लगाएर झुण्डिएको अवस्थामा भेटेपछि आफूले तुरुन्तै छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा लगेको भण्डारीले प्रहरीलाई जानकारी गराएका छन्। सैनिक अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

धौभडेलले चितवनको कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस गरेकी थिइन्। त्यसैगरी उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट सर्जरी विषयमा मास्टर्स गरेकी थिइन्।

उनले आत्महत्या गरेकाे दाबी उनका पतिले गरेका छन्। ‘हामी घटनाको विस्तृत अनुसन्धान गर्दै छौँ,’ एसपी अधिकारीले भने।

प्रतिक्रिया
Pratibha-_3ZjHx8bMyt