चितवनमा बसमा माइक्रोबस ठक्कर खाँदा ८ जना घाइते, ४ जनाको अवस्था गम्भीर

चितवनको भरतपुर–१ रामनगरमा माइक्रोबस र बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । मुग्लिन–नारायणगढ सडकको रामनगरमा बिहीबार (आज) बिहान ट्राफिक प्रहरीले झापाबाट काठमाण्डौं जाँदै गरेको बस जाँचका लागि रोकिराखेको बागमती प्रदेश ०१–००६ ख ४८८८ नम्बरको बसमा ग २ ख २२५ नम्बरको माइक्रोबस अनियन्त्रित भई ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् भने चार जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एवंम् प्रहरी प्रवक्ता श्रीराम भण्डारीले जनाकारी दिए । उनका अनुसार चितवन भरतपुर महानगरपालिका–११ की ४४ वर्षीया मिना सापकोटा, भरतपुर–५ का ४० वर्षीय केशर साह, भरतपुर–१४ की र ५१ वर्षीया धनुमाया ढकाल, भरतपुर–२ का ३० वर्षीय काशी उपरकोटी गम्भीर घाइते भएका हुन् । उनीहरुको टाउको, अनुहार तथा हातमा चोट लागेको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए ।
यस्तै, प्रहरीका अनुसार गोर्खा सिरानचोक–१ की २६ वर्षीया प्रीति रम्तेल मध्यम घाइते भएकी छिन् । उनको शरिरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ भने भरतपुर–२० का ४७ वर्षीय तुलबहादुर घले, भरतपुर–२१ की ४४ वर्षीया मेनका तामाङ, भरतपुर–१४ का ५३ वर्षीय हरिराम ढकाल सामान्य घाइते भएका हुन् ।
उनीहरूको भरतपुरको सिएमसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दुर्घटनामा स्थानीय कमलबहादुर न्यौपानेको घरमा सञ्चालित मोटरसाइकल ग्यारेजमा समेत क्षति पुगेको छ ।