बालिकालाई स्कुटरले ठक्कर दिई फरार हेटौंडाका युवक पक्राउ

पालिका डायरी
४ चैत्र २०८०, २०:४३
रुपन्देहीमा पेस्तोलसहित एक जना पक्राउ AI Photo

बालिकालाई स्कुटरले ठक्कर दिई फरार भएका हेटौंडाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ पिप्ले बस्ने २३ वर्षीय सागर पुडासैनीलाई पक्राउ गरेको हो ।

मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, गत फागुन २५ गते पुडासैनीले चलाएको ग ८ प ४१५२ नम्बरको स्कुटरले पिप्लेस्थित हाम्रो पाठशाला छात्राबास छेउमा स्थानीय ७ वर्षीया बिनिषा पुडासैनीलाई ठक्कर दिइएको थियो ।

तत्कालीन अवस्थामा ठक्कर दिने सवारी नखुलेपछि प्रहरीले विशेष अनुसन्धान टोली गठन गरी सिसिटिभी फुटेज, घटनास्थल वरपरका व्यक्तिहरुसंग सोधपुछ गर्ने क्रममा सागरले चलाएको स्कुटरले ठक्कर दिएको खुल्न आएको हो ।

सागरलाई उक्त स्कुटरसहित शनिबार नियन्त्रणमा लिई ‘सवारी दुर्घटनाबाट मानिस अंगभंग’ शिर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

दुर्घटना पश्चात टाउको तथा शरीरको विभिन्न भागमा चोट लागि गम्भिर घाइते भएकी ती बालिकालाई उपचारको लागि हेटौंडा अस्पतालमा लगिएको थियो । उनको त्यहाँ उपचार सम्भवन नभएपछि थप उपचारको लागि चितवनको पुरानो मेडिकल कलेजमा लगिएको थियो ।

उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

प्रतिक्रिया