रोकिरहेको ट्रकमा बस ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ–मुग्लिङ सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलबिरेमा रोकिरहेको ट्रकमा बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीका अनुसार शनिबार राति रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग१ख ८५२४ नम्बरको बस ना६ख ३२८० नम्बरको ट्रकमा ठोक्किएको थियो । बस टायर पञ्चर भएर रोकिरहेको ट्रकमा बस ठोक्किँदा भारत मोतिहारी जिल्ला चम्पारण बस्ने अन्दाजी ३७ वर्षीय गौरी दासको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते हुनेमा ट्रक चालक पर्सा वीरगञ्ज महानगरपालिका–२३ बस्ने ३३ वर्षको हाकिम मिया, बसमा सवार सर्लाही बरहथवा नगरपालिका मिलनचोक बस्ने २५ वर्षीया पूजा गुप्ता, भारत सितामढी जिल्ला रमनगरा बस्ने ३२ वर्षीय अम्बर नाथ कुमार र भारत बिहार राज्य मजापुर जिल्ला बस्ने ३९ वर्षीया रीता गुप्ता रहेका छन् ।
बस चालक नवलपरासी (सुस्तापुर्व) कावासोती नगरपालिका–१४ बस्ने ३९ वर्षीय लक्ष्मण गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।