पूर्वउपराष्ट्रपति पुत्र दीपेश पुन पक्राउ
प्रहरीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेश पुनलाई पक्राउ गरेको छ ।
नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पुनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले पक्राउ गरेको हो । गत साउन २ गते बरामद भएको साढे ६१ किलो तस्करीको सुन प्रकरणमा पूर्वन्यायाधीश डिल्ली आचार्य नेतृत्वमा गठित जाँचबुझ आयोगको सिफारिसका आधारमा पुनलाई पक्राउ गरिएको हो ।
सुन तस्करी प्रकरणमा जोडिएकाहरूलाई कारबाही अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन् ।
सरकारले उक्त आयोगको प्रतिवेदन कार्यान्वयमा लैजाने निर्णय शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत गरेलगत्तै दीपेश समातिएका हुन् ।पुन र ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ होटल भियानाका मालिक बेल्जियन नागरिक दावा छिरिङको सम्बन्ध रहेको तथ्य प्रहरीले पत्ता लगाएको थियो ।
सुन प्रकरण बाहिरिएसँगै पूर्व उपराष्ट्रपति पुनको परिवार नै जोडिएको विवरण खुलेको थियो। सुन तस्करीबारे जाँचबुझ आयोगले दीपेशसँग गत माघ अन्तिम साता बयान लिएको थियो ।
६० किलो सुन तस्करी प्रकरणमा संलग्न दावा छिरिङसँग दिपेशको कनेक्सन देखिएपछि आयोगले सिंहदरबारस्थित कार्यालयमै बोलाएर उनीसँग बयान लिएको थियो ।
दावा यसअघि नै पुर्पक्षका लागि थुनामा छन्। पुनलाई दावासँगको सम्बन्ध लगायतका विषयमा सोधपुछ गरिएको थियो। आयोगले सुन तस्करीमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई पनि कारबाही गर्न सिफारिस गरेको छ ।


