पञ्चकन्या माविको ६२ औं अभिभावक भेला सम्पन्न, अध्यक्षमा अधिकारी

हेटौंडा / पञ्चकन्या माध्यमिक विद्यालयको ६२ औं अभिभावक भेला तथा स्व. अभिषेक कठायत स्मृति छात्रवृत्ति वितरण कार्यक्रम हिजो मंगलबार विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ । विद्यालयको ६२ औं अभिभावक भेलाले बिनोद अधिकारीको नेतृत्वमा ९ सदस्यीय नयाँ व्यवस्थापन समिति भएकाे छ । यो बिनोद अधिकारीको चौथो कार्यकाल हो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद अधिकारीको सभापतित्व र भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विद्यालयका अभिभावक संघका अध्यक्ष सुरेन्द्र खड्काले उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कार र विद्यालय पोशाक वितरण गरेका थिए । कार्यक्रममा स्व. अभिषेक कठायत अक्षय कोषका संरक्षक आनन्द कठायतले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि स्थानीय, प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराए र नयाँ व्यवस्थापन समितिलाई बधाई समेत दिए ।
भीमफेदी गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष विष्णुबहादुर भोलनले शिक्षा नै मानिसको मुख्य मेरुदण्ड भएकाले विद्यालयलाई सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । विद्यालयको प्रधानाध्यापक सुरेश कुमार ठकुरीले विद्यालयको शैक्षिक सुधारको लागि चुनौती र सम्भावना विषयलाई यथेष्ट प्रस्तुत गरि प्रष्ट पारे ।
प्रमुख अतिथि हिदम लामाले गरिब र विपन्न विद्यार्थीहरू सामुदायिक विद्यालयमा अध्ययन गर्न बाध्य छन् भन्दै गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा जोड दिने बताए । उनले शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय सरकारको समन्वयमा मात्र शैक्षिक सुधार सम्भव हुने बताए ।
भूकम्पपछि विद्यालय भवन निर्माणका कठिनाइहरू उल्लेख गर्दै अध्यक्ष लामाले त्रिपक्षीय प्रयासबाट भवन निर्माण भएको जानकारी दिए । राम्रा कामहरू हुँदैछन् भन्दै उनले अफवाह नफैलाउन आग्रह गरे । आर्थिक कठिनाइ बाबजुद बिस्तारै आवश्यकताहरू पूरा गर्ने लामाले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक र छिमेकी विद्यालयका प्रधानाध्यापकहरू लगायतका सहभागी थिए ।