बाबुबाटै छोरी बलात्कृत, गर्भपतनपछि घटना सार्वजनिक

पालिका डायरी
२८ फाल्गुन २०८०, ०९:३७
१६ वर्षीया किशोरी बलात्कृत

चितवनको कालिका नगरपालिकामा एक बाबुले आफ्नै १४ वर्षकी छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ।

गत पुस महिनामा बाबुको बलात्कारका कारण बसेको ३ महिनाको गर्भपतन गराएपछि घटना सार्वजनिक भएको हो। पुसमा बालिकाले गर्भपतन गराएपछि मामाघरकी हजुरआमाले यो घटना बाहिर ल्याएकी थिइन्।

कालिका नगरपालिका-२ मा रहेको सहपुर आधारभूत विद्यालयमा ७ कक्षामा पढ्दै गरेकी उनको शरीरमा परिवर्तन देखिन थालेपछि विद्यालयका शिक्षकहरूले उनीमाथि शंका गरिरहेका थिए । गत पुसमा एक हप्ता विद्यालय नआएपछि सोधपुछ गर्दा उनी पत्थरीको शल्यक्रिया गरी आराम गरिरहेको परिवारले जानकारी दिएको विद्यालयले जनाएको छ ।

तर, घटनाबारे मामाघरकी हजुरआमाले विद्यालयमा जानकारी गराएको एक शिक्षकले जानकारी दिए । उनका अनुसार छोरीको पत्थरीको शल्यक्रिया नभई बलात्कारपछि गर्भपतन गराएकोबारे हजुरआमाले विद्यालयमा जानकारी गराएपछि विद्यालय परिवारले यो घटना थाहा पाएको थियो । यता, प्रहरीलाई पनि बालिकाकी हजरआमाले नै जानकारी गराएकी छन् ।

इलाका प्रहरी कार्यालय, टाँडीमा गत माघ २४ गते घटनाको बारेमा हजुरआमाले नै जानकारी गराएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । चितवनका प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार त्यसको भोलिपल्टै अर्थात् माघ २५ गते बाबुविरुद्ध बालिकाकी हजुरआमाले किटानी जाहेरी दिएकी थिइन् । बाबुको खोजी जारी रहे पनि हालसम्म फेला पार्न नसकिएको उनले बताए ।

यता, कालिका नगरपालिकाकी उपप्रमुख विमला तामाङका अनुसार बालिका हाल घरमै आमाको संरक्षणमा छिन् । ७ सन्तान मध्येकी जेठी ती बालिकामाथि बाबुले नै बलात्कार गरेको बालिकाले बताएको उपप्रमुख तामाङको भनाइ छ ।

‘ममी अन्टीको घर जानुभएको थियो। त्यो बेलामा नै बुवाले यस्तो गर्नुभएको हो। मैले हुँदैन भनेर रुँदा पनि छोड्नुभएन। ममी धेरै दिन घर नहुँदा धेरैपटक त्यस्तो गर्नुभएको थियो,’ बालिकाको भनाइ उद्धृत गर्दै उपप्रमुख तामाङले भनिन् ।

बालिकाकी आमाले भने घटनाका बारेमा आफूलाई केही थाहा नभएको बताएकी छन् । त्यो घटना कात्तिक महिनामै भएको र उक्त समयमा आमा आफ्नी बहिनीको घरमा एक महिना बस्न गएको पाइएको उपप्रमुख तामाङले जानकारी दिइन् ।

त्यति मात्रै होइन, गर्भपतनको बारेमा समेत आफूलाई थाहा नभएको भन्दै आमा पन्छिन खोजेको उनले बताइन् । बालिकाका बाबुले महिनावारी नभएपछि छोरीलाई चितवनको भरतपुरस्थित सरकारी अस्पतालमा लगेर गर्भपतन गराएको खुलेको छ । गोर्खा घर भएका उनीहरू गत वर्षदेखि मात्रै कालिका नगरपालिकामा डेरा गरी बस्न थालेका थिए ।

ज्यामी काम गर्दै आएका बालिकाका बाबुले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको पारिवारिक स्रोत बताउँछ ।

प्रतिक्रिया