जनयुद्ध दिवसका दिन बागमती गाउँपालिकामा सार्वजनिक बिदा

पालिका डायरी
२८ माघ २०८०, १८:२६

हेटौंडा / मकवानपुरको बागमती गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गाउँपालिकाले जनयुद्ध दिवसका दिन गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाको यही माघ १४ गते बसेको कार्यपालिकाको बैठकले जनयुद्ध दिवसको उपलक्ष्यमा भन्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बताए।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानद्धारा हस्ताक्षरित सूचना जारी गर्दै गाउँपालिकाले भनेको छ, ‘जनयुद्ध दिवसका दिन अर्थात् फागुन १ गते गाउँपालिका कार्यालय, मातहतका कार्यालय, सम्पूर्ण विद्यालय र पालिका भित्र सञ्चालित सम्पूर्ण बैंक तथा वित्तीय संस्था बिदा दिने भनि निर्णय गरेकोले सोही बमोजिम बागमती गाउँपालिका भित्र फागुन १ गते सार्वजनिक बिदा दिइएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’

सर्वोच्च अदालतले फागुन १ मा जनयुद्ध दिवसका अवसरमा भनेर दिएको बिदालाई असंवैधानिक ठहर गरेको थियो। सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले पुस १३ मा गरेको फैसलाको पूर्णपाठमा उक्त बिदा किन असंवैधानिक हो भन्ने उल्लेख छ।

जनयुद्ध दिवसका दिन बागमती गाउँपालिकामा सार्वजनिक बिदा

प्रतिक्रिया