भीमफेदी बालगृहमा हेटौँडाको उपभोक्ता समितिद्वारा सहयोग

मकवानपुरको भीमफेदी गाउँपालिकास्थित बालगृहमा पुरानो मकवानपुर रोड सडक, ढल, पेटी निर्माण उपभोक्ता समितिले खाद्यान्न सहयोग गरेको छ ।
हेटौँडा उपमहानगरपालिका २ मा रहेको पुरानो मकवानपुर रोड सडक, ढल, पेटी निर्माण उपभोक्ता समितिले खाद्यान्न अभाव झेल्दै आएका भीमफेदी बालगृहका बालकका लागि बुधबार बालगृह पुगेर सहयोग प्रदान गरेको हो ।
उपभोक्ता समितिले समितिमा रहेको बचतबाट आएको व्याज रकमबाट चामल, दाललगायतका खाद्यान्न बालगृहमा खाद्यान्न अभाव रहेको जानकारी पाएपछि सहयोग गरिएको समितिका अध्यक्ष मञ्जु दाहाल खतिवडाले बताउनुभयो ।
उहाँका अनुसार बालगृहमा चामल, दाल, चिउरा, तेल, चना, चिनी, गेडागुडी, अण्डा, नुन, चियापत्तीलगायतका खाद्यान्न ३० हजार रुपियाँ बराबरको सहयोग गरिएको छ ।
उपभोक्ता समितिले दैनिक उपभोग्यका सामग्रीहरु नेपाल बाल सङ्गठन मकवानपुरका अध्यक्ष अशोक सारू मगरलाई हस्तान्तरण गरेको थियो । खाद्यान्न हस्तान्तरण कार्यक्रममा उपभोक्ता समितिका उपाध्यक्ष राजु श्रेष्ठ, सचिव शैलेश मानन्धर, कोषाध्यक्ष अजय मानन्धर, सदस्य श्रीमति कृष्णकला पुडासैनी, सङ्गठनका जीवन तिमिल्सनालगायतको उपस्थिति रहेको थियो ।
बालगृहमा हाल १४ जना बालक रहेका छन् । भीमफेदी बाल गृहमा आश्रित बालिकाहरूलाई भने यस वर्षबाट नेपाल बाल संगठन केन्द्रीय बाल मन्दिर नक्सालमा स्थान्तरण गरिएको छ ।
तस्विरः मकवानपुरको भीमफेदी गाउँपालिकास्थित बालगृहमा हेटौँडा २ स्थित पुरानो मकवानपुर रोड सडक, ढल, पेटी निर्माण उपभोक्ता समितिका अध्यक्ष मञ्जु दाहाल खतिवडा खाद्यान्न हस्तान्तरण गर्दै ।