भीमफेदी गाउँपालिकामा न्यायिक समितिको इजलास उद्घाटन

राम कुमार दानी
१८ मंसिर २०८०, ११:०८
भीमफेदी गाउँपालिकामा न्यायिक समितिको इजलास उद्घाटन

हेटौंडा / भीमफेदी गाउँपालिकाले आफ्नो न्यायिक समितिको इजलास निर्माण सम्पन्न गरि उद्घाटन गरेको छ ।

भीमफेदी गाउँपालिकाको उपाध्यक्ष तथा  न्यायिक समितिको संयोजक सन्जिव श्रेष्ठको सभाध्यक्षता तथा भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यतामा नवनिर्मित इजलासको गत १७ गते आइतबार उद्घाटन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि हिदम लामाले  स्थानीय सरकार सञ्चालन ऐन अन्तरगत स्थानीय  स्तरको विवाद स्थानीय स्तरमै समाधान गर्ने उद्देश्यले निर्वाचित जनप्रतिनिधिको प्रत्यक्ष निगरानीमा स्थानीय मेलमिलाप केन्द्र भीमफेदीको नौ वटै वडामा स्थापना गरिएको बताए । लामाले स्थानीय मेलमिलाप  कर्ताहरूलाई आवश्यक तालिम प्रदान गरि वडा कार्यलयको सहयोगमा स्थानीय स्तरमा भएको सानोतिनो झैझगडा लगायतका विवादहरू मेलमिलाप कर्ता मार्फत स्थानीय स्तरमै समाधान भैरहेको बताए । 

उनले मेलमिलाप कर्ताले छलफल गर्न नसकेको र  नमिलेको विवादहरू न्यायिक समितिले हेर्नुपर्ने विवादहरू पालिकाको न्यायिक समिति मार्फत छलफल गराइ जनतालाई सरकार आँगनमै छ भन्ने अनुभुति दिइरहेको बताए । स्थानीय सरकारको प्रत्यक्ष उपस्थितमा  स्थानीय सरकार सञ्चालन ऐनले समाधान गर्न अधिकार दिएको जुनै पनि विवादहरू समुदाय स्तरमा समाधान गर्न संवैधानिक मर्म अनुसार ऐनले तोकेको  कार्यलयमा बसेर आसनको गरिमालाई मर्यादित बनाएर विवाद छलफल गराउन मापदण्डमा आधारित इजलास निर्माण गरिएको अध्यक्ष लामाले बताए ।

यस्तै कार्यक्रममा सभाध्यक्ष तथा न्यायिक समिति संयोजक सन्जिव श्रेष्ठले आफू निर्वाचित भएर आएको अठार महिनामा मेलमिलापको क्षेत्रमा उल्लेखनीय सुधार भएको बताए । उनले इजलास उद्घाटन भए सङ्गै अब न्यायिक समितिले हेर्न मिल्ने जुनसुकै विवादहरूलाई अनुशासित र मर्यादित ढङ्गबाट दुबै पक्षको सहमति गराउन झन सहयोग हुने बताए । इजलास उद्घाटन कार्यक्रमका वडा अध्यक्षहरु जहार सिङ्ग लामा, काषिराम बज्यु , प्रकाश पुडासैनी, प्रमुख प्रशासकीय अधिकृत भिमलाल महर्जन, स्थानीय मेलमिलाप केन्द्रका संयोजकहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया